काठमाडाैँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन्।

उनले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थीदिशातर्फ लगेको आरोप पनि लगाए। पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले दुई तिहाई कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे।
उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरुले एमालेबाट बिद्रोह गर्नुपरेको बताए।
खनालले भने, ‘हामीले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउँदै नेकपामा पु¥याईसकेका थियांै। जुन नेकपामा पुर्याउँदैखेरी १० लाख पार्टी सदस्यहरु हामी थियौं। संघीय संसदमा हामी करिव दुई तिहाई बहुमतमा थियौं। र, यो देशका अहिलेका सात वटा प्रदेश मध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौं। र तल अहिले रहेका ७५३ वटा पालिकाहरु मध्ये हामी ४ सय भन्दा बढीमा बहुमत प्राप्त गरिसकेका थियौं। देश बाममय बन्दै गईरहेको थियो। तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्यायौं, उनी निस्किए–भष्मासुर। यो भष्मासुरको कारणले गर्दाखेरी उनले यो कम्युनिष्ट आन्दोलनलाई क्रमिक रुपले दक्षिणपन्थतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो। र आफ्नै बहुमत मात्रै होइन, दुई तिहाई बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो। जसले गर्दाखेरी नेपालको राजनीतिलाई दक्षिणपन्थीभासतर्फ लग्ने, अस्थिरतातर्फ लैजाने, कम्युनिष्ट आन्दोलनलाई दिशाहिन बनाउने यो कामहरु भयो। जसको परिणाम कम्युनिष्ट आन्दोलन फेरि विभाजन र विखण्डनतर्फ लागेको छ। यो विखण्डन र विभाजनकै परिणाम स्वरुप हामीले पनि त्यो गलत कुरा विरुद्ध बिद्रोह गर्नुपर्यो।’
सम्मानित नेता खनालले आफूहरुले दक्षिणपन्थी अवसरवादी विरुद्धको संघर्षलाई अघि बढाउने गरी नेकपा एसलाई अघि बढाएको दाबी पनि गरे।