काठमाडौं, फागुन ३ । सुदूरपश्चिम प्रदेशसभामा रिक्त विषयगत समितिका सभापति चयन गर्न आज निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । यसबीचमा दुईपटक स्थगित भएको प्रक्रिया शनिबारदेखि अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको हो ।

सचिवालयका अनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावसहित उम्मेदवारी दिने समय तोकिएको छ ।प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले शनिबार बिहान १० बजे मतादाता नामावली प्रकाशन, ११ बजेदेखि साढे ११ बजेसम्म दाबी विरोध, १२ बजे अन्तिम नामावली प्रकाशन, १ देखि ४ बजेसम्म निर्वाचन गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेको जानकारी दिए ।
यस्तै, आइतबार बिहान १० देखि ११ बजेसम्म सभापतिका उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ ।
यस्तै, दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही अघि बढ्नेछ भने त्यसपछि निर्वाचन परिणाम घोषणा गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।