काठमाडौँ । कांग्रेस–एमालेबीच सत्ता सहकार्यको सहमति जुटिसकेका बेला प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेपछि संशय फैलिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेस–एमालेको सहमति अनुसारको सरकार बन्न नसक्ने विश्लेषण भइरहेका बेला बालुवाटारमा कांग्रेस शीर्ष नेताको प्रवेशले थप आशंका बढाएको छ ।

कांग्रेस–एमालेले सत्ता सहकार्य गर्ने र एमाले अध्यक्ष केपी ओलीलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउने सहमति गरिसकेका छन् । कांग्रेसले कार्य सम्पादन समितिको बैठकबाट यो निर्णयलाई अनुमोदन गरिसकेको छ भने एमालेले पनि सचिवालय बैठकबाट माओवादीसँगको सहकार्यलाई पारित्याग गर्ने निर्णय गरिसकेको छ । तर, दुई ठूला दलको सहमतिपछि विश्वासको मत लिने प्रक्रियामा जुटेका प्रधानमन्त्री प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न नयाँ कदम चालेका छन् ।
असार २८ गते विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस शीर्ष नेतालाई बालुवाटारमा भेटेका छन् । कांग्रेस नेता डा. शेखर कोइरालालाई बालुवाटारमा भेटेका प्रधानमन्त्री प्रचण्डले के विषयमा छलफल गरे भन्ने विषय सार्वजनिक नभए पनि सत्ता सहकार्यमाथि विमर्श भएको बताइन्छ । शुक्रबारमात्रै एक कार्यक्रममा शेखरले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिए संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुने र संविधान अनुसार अघि बढ्नैपर्ने जिकिर गरेका थिए ।
कांग्रेस नेता कोइरालाले यस्तो जिकिर गरेपनि कांग्रेसले औपचारिक रुपमै संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन हुने बताएको छ । तर, उपधारा २ को प्रधानमन्त्रीले विश्वासको मत नपाए के हुन्छ बन्ने विषय राष्ट्रपतिको स्वविवेकमा पुगेकाले पनि अब को प्रधानमन्त्री बन्ला भन्ने विषय संशयमा पुगेको छ।
कांग्रेसको मत के छ ?
पटक–पटक धोका दिएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग रुष्ट कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँगकै सहकार्यलाई अघि लैजान चाहन्छन् । देउवा वचनमा पक्का भएपनि आफू प्रधानमन्त्री बन्ने स्थिति बनेमा उनी पछि पर्लान त ? शंका छ । यस्तोमा कांग्रेसको एक पक्ष आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्ने ध्याउन्नमा देखिन्छ । एमालेसँगको सहकार्य फलदायी र दिर्घकालीन नहुनेमा कांग्रेसमा ठूलो बहस छ । यस्तोमा कांग्रेस नेता शेखरले बालुवाटारमा खुसुक्क प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि राजनीतिक घटनाक्रमले नयाँ मोड लिदैन भन्ने अवस्था छैन ।
कुटिल शेखरको चलखेल
कांग्रेस नेता शेखर कोइराला कांग्रेसकै प्रतिपक्षी नेता हुन् । कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवासँग लड्ने इच्छा हुँदाहुँदै पनि महामन्त्री गगन थापालाई सघाएका उनी कांग्रेसले सरकारको नेतृत्व लिने अवसर मिलेमा केहि नयाँ कदम चाल्न तयार हुनेमा शंका छैन ।
कोशी प्रदेशमा आफ्नै पार्टीले माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने निर्णय गरेको बेला आफू निकटका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेसँग सहकार्य गरेका उनी अहिलेको परिस्थितिमा त्यसै रोकिएलान भन्न सकिन्न् । कुटनीतिक रुपमा चतुर शेखरले कोशीमा चालेको जस्तै कदम चाल्न पार्टीभित्र आफ्नो गुटलाई सक्रिय बनाउने र पार्टीले सरकारको नेतृत्व लिने अवसर मिलेमा अघि बढ्ने स्थिति बलियो छ ।
ओलीसँग कांग्रेसलाई छैन विश्वास
एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी ओली सहजै सत्ता हस्तान्तरण गर्न राजी भएको इतिहास छैन् । विगतमा कांग्रेसलाई आलोपालो सरकार चलाउने मामलामा होस वा तत्कालीन नेकपाकालको विषय नै किन नहोस ओलीले बरु संसद विघटन गर्ने तर सत्ताको नेतृत्व सहजै हस्तान्तरण नगर्ने इतिहास छ ।
आफ्नै पार्टीको सरकारविरुद्ध समेत उत्रिएर आफूलाई प्रतिपक्षी कित्तामा राख्न सफल ओलीले सहजै सत्ता हस्तान्तरण गर्ने गरेको विगत नहुँदा पनि कांग्रेसमा शेरबहादुर देउवाको पालासम्ममा ओलीले नयाँ कदम चाल्छन् भन्ने शंका बलियो छ । यस्तोमा शेखरको दौडधुप र प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतले नयाँ तरङ्ग पैदा गरिदिएको छ ।