लस एन्जलस । दुई पटकका ओस्कर विजेता हुन् बलिउडका चर्चित अभिनेता केभिन स्पेसी । केही वर्ष अघि उनमाथि यौन उत्पीडनका कयौँ आरोप लागेका थिए । गएको वर्ष उनी सबै आरोपबाट मुक्त भए । यौन उत्पीडन र अनुचित व्यवहारका कुनै पनि मामिलामा उनी दोषी भेटिएनन् ।तर उनीमाथि लागेको आरोपका कारण अभिनेता कङ्गाल बनेका छन् । स्पेसीले पछिल्ला कयौँ वर्षहरू अदालतको चक्कर काटेर बिताए । कानुनी फिसको खर्च पनि थुप्रै आएको थियो । अब अवस्था यस्तो भएको छ कि अभिनेता ऋणमै चुर्लुम्म डुबेका छन् । अहिले पनि दसौँ लाख डलर कानुनी फिस पनि तिर्न बाँकी छ ।बक्यौता बिल तिर्न नसकेपछि अभिनेता बस्दै आएको घर जफत गरिएको छ । सो घरको लिलाम विक्री हुन लागेको छ । आफूसँग अब पैसै नभएको उनी बताउँछन् । सन् २०१७ मा मिटू आन्दोलन छेडिएपछि स्पेसीमाथि यौन उत्पीडन र अनुचित व्यवहार गरेको आरोप लागेको थियो । यसबाहेक चार जनाले उनीमाथि उत्पीडनको नौ वटा आरोप लगाएका थिए । तर यीमध्ये कुनै पनि आरोपमा अभिनेता दोषी भेटिएनन् ।
