काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल हुँदै थियो । कांग्रेसको अर्जुन नरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धारणा राखे । त्यसपछि बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै खोजी गरे ।उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको जानकारी गराइन् । सँगै सरकारका प्रतिनिधिका रुपमा खानेपानी मन्त्री राजेन्द्रकुमार राई रहेको पनि बताइन् ।तर राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि मात्रै बोल्ने अडान लिए ।‘अर्थमन्त्री नै चाहिन्छ नि, सभामुख महोदय एकछिन ब्रेक गरौं, अर्थमन्त्री खाली भएपछि सुरु गरौं’, उनले भने ।उपसभामुख रानाले माननीयज्यू अगाडि बढौं, अर्थमन्त्री आउँदै हुनुहुन्छ भनिन् ।लिङ्देनले आफूले पाएको थोरै समय अर्थमन्त्री नआउँदै सकिए के गर्ने भन्दै अर्थमन्त्री आएपछि समय गणना सुरु हुने भए मात्र बोल्ने बताए । ‘उहाँ आउनुभएपछि सुरु गर्छु, म उभिन सक्छु’, लिङ्देनले भने, ‘एक छिन ब्रेक गरे पनि हुन्छ ।’तर उपसभामुख रानाले बैठक स्थगित नगर्ने भनिन् । ‘ब्रेक चाहिँ नगरौं होला, अगाडि बढ्दै गर्नुहोला । अर्थसम्बन्धी टुक्का भन्दै जानुहोला, कोटेसनहरु भन्दै जानुहोला ।’त्यतिबेलै एमाले सांसद दयालबहादुर शाहीले नियमापत्ती गरे । उनले बोल्न गएपछि सरासर बोल्नुपर्छ, दोहोरी खेल्नुहुँदैन भनेपछि राप्रपा सांसदहरु उठे ।राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेताले अर्थमन्त्री खोज्दा दोहोरी खेलेको हुन्छ भन्दै प्रतिवाद गरे । ‘संसद कसैको पेवा होइन, जनताबाट निर्वाचित भएको एक जना सांसदको त्यति नै महत्व हुन्छ’, उनले भने ।त्यतिबेला सभामुखको आसनमा सभामुख देवराज घिमिरे फर्किसकेका थिए । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो सिटमा फर्किन आग्रह गरे र संसद बैठक १५ मिनेटका लागि स्थगित गरे ।सभामुख घिमिरेले राष्ट्रिय सभा र प्रतिनिधिसभा एउटै समयमा बजेट छलफल भएकाले यस्तो समस्या आएको बताए ।
