वीरगञ्ज- शुक्रबार बिहान त्रिशूली नदीमा खसेर बेपत्ता भएका २४ जनामध्ये दुई जना स्वास्थकर्मी भएको खुलेको छ।

वीरगञ्जबाट छुटेर दुर्घटनामा परेको बसमा पर्साको सखुवा प्रसौनी गाउँपालिकास्थित बर्थिङ सेन्टरमा कार्यरत दुई जना स्वास्थकर्मीहरू पनि रहेका पत्ता लागेको छ। उनीहरू पनि बेपत्ता सूचीमा छन्।
बसमा सवार सखुवा प्रसौनी गाउँपालिका- ३ कटेया निवासी सोही गाउँपालिका-५ महुवनस्थित बर्थिङ सेन्टरमा कार्यरत ल्याब असिस्टेन्ट रैफुल आलम र रेडियोग्राफर सृष्टि यादव बेपत्ता भएको गाउँपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिए।
दुवै जना करार कार्यरत कर्मचारी भएको तथा लोकसेवाको परीक्षा दिन काठमाडौंका लागि बसमा सवार भई छुटेको उनले बताए।
दुवै जना हालसम्म दुर्घटनामा परी बेपत्ता रहेको खबर आफूले पाएको यादवले बताए। वीरगञ्जबाट छुटेको प्रदेश नम्बर ३ ००६ ख १५१६ एन्जल बसमा चालक सहचालकसहित २४ जना सवार बस शुक्रबार बिहान पहिरो खसेर त्रिशूली नदीमा बेपत्ता भएको छ।