काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई कारबाही सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा बुझाएको छ ।गत बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले एक साताका लागि महामन्त्री ढकाललाई निलम्बन गरेको थियो । उक्त बैठकले उनलाई थप कारबाही सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो ढकाललाई गरेको एक हप्ताको निलम्बनको कारबाही मंगलबार सकिँदैछ । आयोगले त्यसको दुई दिनअघि नै आइतबार आफ्नो प्रतिवेदन बुझाएको आयोगका सदस्य यज्ञमणि न्यौपानेले जानकारी गराए । ‘हामीले आइतबार प्रतिवेदन बुझाएका छौं । हामीले गरेको सिफारिसबारे पार्टीले निर्णय लिन्छ,’ आयोगका सदस्य न्यौपानले बताए ।रास्वपाले आयोगको प्रतिवेदनमाथि छलफल गर्न मंगलबार बिहान केन्द्रीय समितिको बैठक बोलाएको छ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समितिले आयोगको सिफारिसबारे निर्णय लिनेछ ।गत बुधबार बसेको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारणको नगरिएको भन्दै मुखमा टेप बाँधेर बसेका थिए । बैठकमा उपस्थित सबैजसो केन्द्रीय सदस्य ढकालको व्यवहार अस्वभाविक भएको भन्दै उनलाई कारबाही गर्न माग गरेका थिए ।रास्वपा शीर्ष तहका नेताका अनुसार अब ढकाल महामन्त्री पदमा फर्किने सम्भावना छैन । ‘उहाँले बुधबार देखाएको व्यवहार र पार्टी स्थापनादेखि गरेका क्रियाकलापहरु समेटेर आयोगले प्रतिवेदन बुझाएको छ’, शीर्ष तहका एक नेता भन्छन्, ‘महामन्त्रीको पदमा रहने सम्भावना देखिन्न ।’सिंगो केन्द्रीय समिति र पार्टीपङ्ति उनको पक्षमा नदेखिएकाले ढकाल महामन्त्री रहिरहन सक्ने अवस्था नभएको उनले बताए ।इलामको उपनिर्वाचनपछि रास्वपाले पार्टीको अवस्था बुझेर समीक्षा प्रतिवेदन तयार गर्न ढकाललाई जिम्मेवारी दिएको थियो । त्यसपछि उनले ३८ जिल्ला पुगेर ३२ पृष्ठको समीक्षा प्रतिवेदन तयार गरेका थिए । उक्त प्रतिवेदनमा पार्टीको अवस्था राम्रो नभएको भन्दै ०८४ को चुनावमा राष्ट्रिय पार्टी पनि बन्न गाह्रो हुने निश्कर्ष प्रस्तुत गरिएको थियो ।प्रतिवेदन पार्टीमा छलफल हुनुभन्दा पहिले नै सञ्चार माध्यममा चुहाएको भन्दै ढकालमाथि प्रश्न उठेको थियो । गत बुधबार प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक ढकालले प्रत्यक्ष प्रशारण माग गरेका थिए ।केन्द्रीय समितिका सबैजसो सदस्यले अस्वीकार गरेपछि ढकालले मुखमा टेप टाँसेर बसेका थिए । प्रतिवेदनमाथि केन्द्रीय समितिका सबैले धारणा राखेपछि ढकाललाई बोल्न आग्रह गर्दा उनले प्रत्यक्ष प्रशारण नगरिएको कारण देखाएर बोल्न अस्वीकार गरेका थिए र बैठक छाडेर निस्केका थिए ।ढकालले देखाएको व्यवहार पार्टी आचरण विपरीत भएको भन्दै त्यसै दिन रास्वपाले उनलाई एक हप्ताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
