क्यालिफोर्निया । सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्म र आइफोन निर्माता कम्पनी एप्पलबीच एआईबारे छलफल भएको छ ।यस छलफलमा मेटाका जेनरेटिभ एआई मोडललाई एप्पलका उत्पादनमा समायोजन गर्नेबारे कुराकानी भएको बताइएको छ ।अरू एआई कम्पनीका प्रविधिलाई आइफोनमा राख्ने योजना एप्पलले बनाएलगत्तै यो छलफल भएको हो । एप्पलले माइक्रोसफ्ट समर्थित ओपनएआइएको च्याटजीपीटीमाथि बन्देज लगाइएका चीनलगायत अन्य क्षेत्रमा भने अरू नै एआई कम्पनीसँग साझेदारी गर्ने अपेक्षा गरिएको छ । यसका लागि कम्पनीले एआई स्टार्ट–अप कम्पनी एन्थ्रोपिकसँग छलफल गरिरहेको बताइएको छ ।यसबारे रोयटर्सको जिज्ञासामा मेटा र एन्थ्रोपिक दुबैले कुनै पनि प्रतिक्रिया दिन मानेका छैनन् । छलफल अन्तिम चरणमा नपुगेकोले बिना निष्कर्ष टुङ्गिन सक्ने पनि बताइएको छ । अन्य प्रविधि कम्पनीहरूले धमाधम एआई फिचर अपनाइरहँदा एप्पल यसबाट टाढै थियो । तर गएको महिना कम्पनीले आफ्नो बहुप्रतिक्षित एआई रणनीति घोषणा गरेको थियो ।
