जनकपुरधाम । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।२०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेका थिए । तर पराजित भए । अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए ।महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए ।मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
