काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ ।अर्थमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरू र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरूको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् । त्यस क्रममा मन्त्री पुनले कार्यान्वयन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिए । मन्त्री पुनले बजेटको आकार कूल ग्राहस्थ उत्पादनसँग मेल खाने खालको भएकाले कार्यान्वयन सहज भएको विश्वास व्यक्त गरे । ‘खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔँ’, जति समयमै गर्न सकियो र खर्च बढाउन सकियो त्यति नै बजार चलायमान हुने हो’, उनले भने, ‘हामीले अहिले असारमा गरिरहेको खर्च ६ महिनाअघि गर्न पाएको भए दुई/तीन पटक बजारमा ‘सर्कुटेल’ हुन्थ्यो । त्यसबाट राजश्व सङ्कलन हुन्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो । हामी परम्परागत नहोऔँ, समयमै र छिटै काम गर्ने गरी योजना बनाऔँ ।’पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दसैँ तिहारजस्ता ठुला पर्वको बिदा ख्याल गरेर मात्र कार्ययोजना बनाउन उनले अह्राए ।श्रोतले नधान्ने गरी २० खर्बको बजेट आउने बजार हल्लाबिच १८ खर्ब ६० अर्बको वस्तुवादी बजेट ल्याउन सकिएकामा सन्तोष लागेको उनले बताए । मन्त्री पुनले नयाँ आयोजनामा भन्दा चालु र ठुला आयोजनालाई केन्द्रित गरेर बजेट ल्याएको चर्चा गरे । चालु आर्थिक वर्षको बजेटमा अवस्तुवादी राजश्व सङ्कलनको लक्ष्य राखिएकाले लक्ष्यभन्दा धेरै काम राजश्व सङ्कलन भएको उनको टिप्पणी थियो । ‘म अघिल्ला अर्थमन्त्री वा अरू कसैलाई आरोपित गर्न चाहन्न । कार्यान्वयन हुनै नसक्ने ४२ प्रतिशतको राजश्व वृद्धिको लक्ष्य निर्धारण हुनुमा अर्थमन्त्री वा हाम्रो प्रणाली कसको दोष हो । त्यसको पनि समीक्षा हुनुपर्ला’, उनले भने । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३२ अर्ब बजेट विनियोजन गरिएको चर्चा गर्दै उनले पूरा नगरी नहुने अरू चालु आयोजनाको निर्माण सक्ने गरी बजेट व्यवस्था गरिएको जनाए । त्यसले रोजगारी सृजना गर्नुका साथै मुलुकको समग्र अर्थतन्त्रमै योगदान पुग्ने मन्त्री पुनले उल्लेख गरे । मन्त्री पुनले स्थानीय तहमा जाने समानीकरण रकम तत्काल निकासा गर्न निर्देशन दिए । ‘७ सय ५३ वटै स्थानीय तह बजेट ल्याउने अन्तिम तयारीमा छन् । मन्त्री वा मन्त्रीभन्दा माथिल्लो ओहोदाका कसैले कानुनबाहिर गएर काम गर्न निर्देशन दिए अवज्ञा गर्न उनको सुझाव थियो । फरक प्रसङ्गमा मन्त्री पुनले आफू करिब चार महिनाअघि मन्त्रीका रूपमा आउँदा एक हजार फाइल ‘पेन्डिङ’ मा रहेको चर्चा गर्दै अहिले आफ्नो टेबलमा आएको फाइल एक दिन पनि नरोकिएको बताए । बजेटसँग तालमेल हुने गरी वित्त नीति आउने विश्वास आगामी आर्थिक वर्षका लागि सार्वजनिक वित्त नीति (बजेट) वस्तुगत र यथार्थपरक आएकामा सबैतिरबाट प्रशंसा भएको उनले बताए । मन्त्री पुनले नेपाल राष्ट्र बैङ्कले वित्त नीतिसँग तालमेल हुने गरी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरे । छलफलमा गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी थिए । वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्यता हुन्छ कि हुँदैन भन्नेबारे मानिसहरूले विगतदेखि नै अनावश्यक टिप्पणीहरु गर्ने गरेको भन्दै पुनले वित्त नीतिभन्दा फरक मौद्रिक नीति नआउने विश्वास व्यक्त गरे । पुनले विश्व बैंक र एसियाली विकास बैंकले आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि ७ प्रतिशतसम्म आर्थिक वृद्धि हुने आधार देखिएको उल्लेख गरे
