काठमाडौँ । रास्वपाका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । आइतबार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै सभापति लामिछानेले भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको बताए । ‘मुलुक अप्ठेरोमा कसले पारेको हो ? गरिब किसानले पारेको हो ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकेतन्त्रमा खतरा भएको हो ।’ उनले लोकतन्त्र अप्ठेरोमा परे जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नुपर्ने बताए ।नेताहरूले आजसम्म ठुला ठुला युनिभर्सिटी बनेनन् त्यसमा छलफल गरौँ भनेर नेताहरूले आजसम्म सर्वदलीय बैठक बोलाउन नसकेको भन्दै सहमति कस्ता कस्ता कुरामा भएका रहेछन् भनेर बुझ्नुपर्ने बताए । उनले जनता र राष्ट्रका साझा मुद्दामा केन्द्रित भएर बहस गरेमात्र समस्याको निकास आउने भन्दै सबै दल त्यसका लागि तयार हुनुपर्ने बताए । उनले सधैँ लोकतन्त्र खतरामा परेको भनेर भाषण गर्ने गरिएको भन्दै भाषण र व्यवहारमा एकरुपता ल्याउन जरुरी रहेको बताए ।
