रौतहट, ७ असार । सशस्त्र प्रहरीको चरम लापारबाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरीले ती भारतीय युवकलाई स्रोत नखुलेको रकमसहित बिहीबार पक्राउ गरेको थियो । उनलाई रकमसहित गौर भन्सारमा बुझाउने क्रममा पिसाव फेर्ने बाहानामा भन्सार कार्यालयको पश्चिम गेट हुँदै भारत तर्फ भागेका थिए । सशस्त्र प्रहरी बल रौतहटले भने बिहीबार साँझ आफूहरुलाई छक्याएर फरार भएका दाबी गरेको छ ।
सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नेवाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका-७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका रायलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापारबाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएका बताइएको छ ।
उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए । त्यसैक्रममा उनी फरार भएका सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । यो घटनाबारे सशस्त्र प्रहरी बलको ११ नम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले घटनाबारे थाहा नभएको प्रतिक्रिया दिय ।
फरार भएका गजेन्द्र हुण्डी कारोबारीका भरिया भएको अनुमान गरिएको छ ।
रौतहटको विभिन्न नाका भएर भरियामार्फत सिमामा तैनाथ सशस्त्र प्रहरी र जनपथ प्रहरीको मिलेमतोमा हुण्डी कारोबारीले पैसा नेपाल भित्राउने गरेको समाचार स्रोतको दाबी रहेको छ ।