बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथि आजदेखि छलफल सुरु हुँदैछ । प्रदेश सभाको १४ औँ बैठकमा आज दिउसो १ बजे आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्यायको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बैठकमा बजेटमाथि छलफल सुरु हुने बताए । यस्तै आजको बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन, २०८१ सभामा पेस गर्ने कार्यसूची रहेको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ का लागि असार १ गते ३८ अर्ब ९७ करोड ९५ लाख रुपियाँ बजेट छुटाएको थियो।यसमध्ये चालूतर्फ ११ अर्ब २५ करोड अर्थात २८ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड अर्थात् ६३ प्रतिशत छुट्याइएको छ । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड अर्थात् ८ प्रतिशत बजेट विनियोजन गरिएको अर्थ मन्त्री आचार्यले प्रदेशसभा जनाएका थिए।
