पोखरा – मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिला कार्यस्थलमै हिंसा र दुर्व्यवहारको शिकार बन्ने गरेको पाइएको छ। ग्राहक, व्यवसायी र पुरुष सहकर्मीबाट उनीहरुको हिंसासँगै दुर्व्यवहारको शिकार भएका हुन्।शक्ति समूहले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको सामाजिक, आर्थिक र श्रम ऐनको कार्यन्वयन अवस्था केन्द्रित सर्वेक्षणले ४६ प्रतिशत कुनै न कुनै हिंसा र दुर्व्यवहारमा परेको खुलाएको हो।समूहले ५०७ जना श्रमिक महिलामाझ पुगेर सर्वेक्षण गरेको थियो। इटहरीमा ८३, पोखरामा १०१ र काठमाडौँमा ३२३ जना क्याविन रेष्टुरेन्ट, खाजाघर, दोहोरी साँझ, डान्सबार, मसाज र स्पामा काम गर्ने श्रमिक महिलाबीच गरिएको सर्वेक्षणमा ४६ प्रतिशतले दुर्व्यवहार भोग्न बाध्य भएको बताएका हुन्।त्यसमा पनि सबैभन्दा धेरै पोखराका श्रमिक महिला दुर्व्यवहारमा परेको सर्वेक्षणले देखाउँछ। सोमबार गरिएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा पोखरामा ६९ प्रतिशत, काठमाडौँमा ४५ र इटहरीमा २३ प्रतिशतले दुर्व्यवहार भोग्नुपर्ने जानकारी गराइएको हो।

क्षेत्रगत रुपमा सबैभन्दा बढी डान्सबारमा ७३ प्रतिशतले दुर्व्यवहार खेप्नुपरेको छ। दोहोरी साँझमा ५१ प्रतिशत, मसाज, स्पामा ३४ प्रतिशत, क्याबिनमा ३० प्रतिशत, खाजा घरमा ३० प्रतिशतले कार्यस्थलमै दुर्व्यवहारको अनुभव गरेका हुन्।ग्राहकले महिला श्रमिकको सहमतिबिना शरीरमा छुने, अश्लिल भाषाको प्रयोग गर्ने गरेको शक्ति समूहकी प्रशासकीय अधिकृत सुशीला खकुरेलले बताइन्। ‘श्रमिकलाई वस्तुको रुपमा लिई तिमीहरुको रेट कति हो भनेर सोध्छन्। शरीरका अंगहरूमा जुम गरेर सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्छन्’, सर्वेक्षणमा श्रमिक महिलाले सुनाएका अनुभव उदृत गर्दै खकुरेलले भनिन्।प्रहरीको व्यवहार भने पहिलेको तुलनामा केही हदसम्म सुधार भएको पाइएको छ। श्रमिकलाई दुर्व्यवहार र शोषणबाट बचाउन कार्यस्थलमा सुरक्षित वातावरण सुनिश्चित गर्न पर्याप्त आचारसंहिता नभएको उनको भनाइ थियो।सामाजिक हिसाबले पनि यो क्षेत्रमा काम गर्नेलाई गलत तवरले व्याख्या गर्ने गरेको पाइएको छ। मनोरञ्जन क्षेत्रमा सम्झौताबिनै श्रमिक महिलालाई काममा लगाएको सर्वेक्षणले बताउँछ।शक्ति समूहकी प्रमुख चरीमाया तामाङले मनोरञ्जन क्षेत्रलाई व्यवस्थित गर्न सकेको खण्डमा आन्तरिक रुपमा हुने मानव बेचविखनको संख्या शून्यमा झार्न सकिने बताइन्।‘यसलाई पूरा गर्न सबै लाग्यौँ भने सम्भव छ। मनोरञ्जन क्षेत्रमा बालबालिका प्रवेश हुने छैनन्। मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका परिपक्व नागरिक जोखिममा पर्ने छैनन्’, उनको विश्वास थियो। मनोरञ्जन क्षेत्रमा कार्यथलो र पेशालाई व्यवस्थितसँगै मर्यादित बनाउन आवश्य रहेको उनको भनाइ थियो।