विश्वकप फुटबलपश्चात सर्वाधिक धेरै हेरिने फुटबल प्रतियोगिताका रूपमा रहेको युरोकपको १७ औं संस्करण शुक्रबारबाट जर्मनीमा सुरु हुँदैछ। युरो २०२४ अर्थात युरोपियन च्याम्पियनसिपको यो संस्करण धेरै अर्थमा महत्त्वपूर्ण मानिँदै छ।फिफा विश्वकपपछिको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा रहेको च्याम्पियनसिप कोभिड-१९ का कारण २०२० को युरो एकवर्षपछि अर्थात २०२१ मा भएको थियो। युरोपको उत्कृष्ट प्रतियोगिता पुन: एकपटक ४ वर्षे चक्रमा फर्किएको छ।इटाली युरो कपको डिफेन्डिङ च्याम्पियन हो। युरो २०२० को फाइनलमा पेनाल्टी सुटआउटमा इंग्ल्यान्डलाई हराएर टोलीले अन्तिम प्रतियोगिता जितेको थियो। आजबाट सुरु हुने प्रतियोगितामा युरोपका दाबेदारहरूले गर्ने प्रतिस्पर्धामा सबैको नजर अडीएको छ।प्रतियोगिताको पहिलो खेल नेपाली समयअनुसार आज मध्यराति १२:४५ मा आयोजक जर्मनी र स्कटल्याण्डबीच हुँदैछ।

रोनाल्डोको अन्तिम युरोकप हुने आँकलन
पोर्चुगलका विश्वप्रसिद्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका लागि युरो २०२४ अन्तिम महादेशीय प्रतियोगिता (युरो) हुन सक्ने आँकलन गरिएको छ। उनी अन्तिम पटक २०२६ फिफा विश्वकपमा राष्ट्रिय जर्सीमा देखिन सक्ने अर्को प्रतियोगिता हुन सक्ने बताइएको छ।३९ वर्षीय रोनाल्डोले पछिल्लो ५ युरो खेलेका छन्, २०१६ मा उनको टोली एक पटक च्याम्पियन बनेको थियो। जुन रोनाल्डोको अहिलेसम्मको सर्वाधिक ठूलो अन्तर्राष्ट्रिय फुटबल उपाधिकाे रूपमा रहेकाे छ। उनले २ सय ६ खेलमा कीर्तिमान १ सय ३० गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता खेलाडीको शीर्ष स्थानमा आफूलाई उभ्याएका छन्।
प्रतियोगिताको कस्तो छ ढाँचा?
प्रतियोगितामा छनोट भएका २४ टिमलाई ६ समूहमा विभाजन गरेर खेलाइँदै छ। जसमा प्रत्येक समूहमा चार टोली रहेका छन्। प्रत्येक समूहको शीर्ष २ टोली र उत्कृष्ट चार तेस्रो हुने टोली राउन्ड अफ १६ मा पुग्नेछन्।त्यसपछि नकआउट चरणका खेल हुनेछन् जहाँबाट क्वाटरफाइनल र सेमिफाइनल हुँदै फाइनलसम्मका खेल अघि बढ्ने छन्। नकआउटमा यदि खेल निर्धारित समयमा बराबरी भएमा अतिरिक्त समय (प्रत्येक १५ मिनेटको हाफ टाइम) खेलिने छ। अतिरिक्त समयमा पनि बराबरी भएमा खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ।
जर्मनी र स्पेन सबैभन्दा सफल टोली
आयोजक जर्मनी र स्पेन युरो कपमा सबैभन्दा सफल टोली हुन। उनीहरूसँग समान ३-३ युरोकपको उपाधि रहेको छ। तर जर्मनीले पछिल्लो पटक सन् १९९६ मा प्रतियोगिता जितेको थियो। स्पेनले भने पछिल्लो पटक सन् २०१२ मा उपाधि हात पारेको थियो।
यी हुन् यो संस्करणका उपाधि दाबेदार:
फ्रान्स
फिफा विश्वकप २०२२ को फाइनल पुगेको फ्रान्सले टोलीमा खासै परिवर्तन गरेको छैन। टोलीमा स्टार स्ट्राइकर केलियन एमबाप्पे मुख्य हतियारका रूपमा रहने छन्। विश्वका उत्कृष्ट फरवार्डमध्येमा एक रहेका उनी युरोकप जित्ने प्रयासमा छन्। उनी फिफा विश्वकप २०२२ का सर्वाधिक गोलकर्तासमेत हुन्।यसअघि २०२० को क्वार्टरफाइनलबाट बाहिरिएको निराशा अन्त गर्ने प्रयासमा फ्रान्स रहेको छ। त्यसो त चोटका कारण केही अनुभवी खेलाडी टोलीमा छैनन्। गोलकिपर ह्युगो लोरिस र डिफेन्डर राफेल भाराने टोलीबाट बाहिरिएका छन्।
इंग्ल्याण्ड
गत संस्करण युरोको फाइनलमा पुगेको इंग्ल्यान्ड संधै उत्कृष्ट टोली र उपाधि दाबेदार मानिन्छ। उसका लागि सबैभन्दा ठूलो प्रश्न गुणस्तरको होइन, मानसिकताको हो। ह्यारी केन, जज बेलिंघम र फिल फोडेनजस्ता विश्वस्तरीय खेलाडी भए पनि टोली अभागी रहँदै आएको छ।टोलीमा इङ्लिस प्रिमियर लिगका शीर्ष खेलाडीको बाहुल्यता छ। तर जब नकआउट राउण्ड सुरु हुन्छ तब इंग्ल्यान्ड लडखराउन थाल्छ। यद्यपि यो पटक छनोटबाटै राम्रो लय समाएको इंग्ल्यान्डले साविक च्याम्पियन इटालीजस्ता टोलीलाई पराजित गर्दै आत्मविश्वास बटुलेको छ। त्यसैले ऊ यो पटक उपाधि दाबेदारीमा अब्बल मानिएको छ।
पोर्चुगल
२०१६ को युरो च्याम्पियन पोर्चुगलले युरोपियन च्याम्पियन्सिप छनोटमा आफ्ना खेलहरू सजिलै जित्यो। टोलीले सबै १० खेलमा १० वटै जितेर आफ्नो रवाफिलो उपस्थित देखाउन सक्षम रह्यो। छनोटमा उसले १० खेलबाट ३६ गोल गर्याे र केवल दुई गोलमात्र खायो।टोलीमा ब्रुनो फर्नान्डिस, क्रिस्टियानो रोनाल्डो, बर्नार्डो सिल्भा, रुबेन डियास र जोआओ क्यान्सेलो जस्ता खेलाडीको लय उसका लागि युरोकपमा कहाँ पुग्ने भन्ने आधार तयार गर्ने छन्।पोर्चुगलसँग गोल गर्ने क्षमता, रचनात्मकता र केही उत्कृष्ट डिफेन्डरहरू छन्। यी सबै कुरा प्रतियोगिता जित्नको लागि आवश्यक र महत्त्वपूर्ण मानिन्छ।
जर्मनी
२०१४ को विश्वकप विजेता जर्मनी घरेलु मैदानमा बलियो मानिएको छ। घरेलु समर्थन प्राप्त रहेको जर्मनी २०२३ मा भएको खराब प्रदर्शनलाई बिर्सिएर अघि बढ्ने प्रयासमा छ। आयोजकका रूपमा युरोमा स्थान बनाएको जर्मनीले २०२३ मा खेलेका ९ वटा मैत्रीपूर्ण खेलमा पाँच खेल हार्याे र दुई मात्र जित्यो। तर वर्षको अन्त्यदेखि सुधार भएको विश्वास गरिन्छ- विशेषगरी फ्रान्स र नेदरल्याण्डसँगको हारपछि।आफूलाई समाल्न सफल भएको जर्मनी पहिलो उपस्थितिबाटै आफ्नो उपाधि दाबेदार छविलाई देखाउने प्रयास गर्नेछ। टोनी क्रुस, इल्के गुन्डोगन, जमाल मुसियाला र फ्लोरियन विर्ट्ज जस्ता प्रतिभाशाली खेलाडीहरूको तालमेतल मिलेमा उसले नतिजामा बदलाव ल्याउने छ। अझ टोलीसँग यस दशककै उत्कृष्ट गोलरक्षक म्यानुअल नोइर रहँदा आत्मविश्वास थप बढ्ने छ। क्रुसका लागि यो प्रतियोगिता सम्भवत: अन्तिम प्रतियोगिता हुनेछ।
स्पेन
स्पेनले २००८ र २०१२ बीच लगातार तीन अन्तर्राष्ट्रिय उपाधि जित्यो। दुई युरो र एक विश्वकप। तर, त्यसपछि टोलीमा धेरै परिवर्तन भएका छन् र टोलीको प्रदर्शन निरन्तर खस्कँदै गएको मानिन्छ। २०१८ को विश्वकप, २०२१ युरो र २०२२ को विश्वकपमा उनीहरूले क्रमशः रसिया, इटाली र मोरक्कोभन्दा राम्रो फुटबल खेले, तर पेनाल्टीमा सबै सँग हारे। तर २०२३ मा क्रोएसियालाई हराएर उनीहरूले युइएफए नेसन्स लिग जितेर पुन: विश्व फुटबलमा फर्किए।अन्य टोलीको तुलनामा स्पेनसँग खास केही छैन, तर यो टोलीमा ड्यानी कार्भाजल, निको विलियम्स, पेद्री र ड्यानीजस्ता युवा खेलाडीले भरिएको छ। युवा खेलाडीले आफ्नो संयमित प्रदर्शन गर्न सकेको खण्डमा स्पेन विश्व फुटबलमा पुन: च्याम्पियन छविमा फर्कने विश्वास गर्न सकिन्छ।