काठमाडौँ । विभिन्न स्थानबाट लागुऔषसहित चार जना पक्राउ परेका छन् । कास्की, मकवानपुर र कञ्चनपुरमा लागुऔषसहित चार जना पक्राउ परेका हुन् । कास्कीको पोखरा महानगरपालिका–१३ कसेरीबाट लागुऔषध गाँजा ३ सय ७५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१३ संगमटोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका- १३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपाली रहेका छन् ।उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टिनालाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित भारत उत्तर प्रदेश पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशप्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । यता, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित मनहरी गाउँपालिका–२ बस्ने ३० वर्षीय दिनेश गोङबा पक्राउ परेका छ्न् । गएराति उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
