हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्ने भएको छ । जिल्लाका ९ वटै स्थानीय तहबाट शिविर सञ्चालन गर्ने तयारी थालेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।मङ्गलवार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले २ टोली बनाएर जिल्लाका ९ स्थानीय तहको केन्द्रमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको हो । उनका अनुसार जेठ ३० गते (आज) बाट स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्र वितरणका लागि शिविर सञ्चालन गरिने छ । आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै ज्येष्ठ नागरिकहरूको सहजताका लागि शिविर सञ्चालन गर्न लागेको उनले बताए ।ज्येष्ठ नागरिकहरू जिल्ला सदरमुकामसम्म आउन, जान समस्या हुने देखिएकोले स्थानीय तहको केन्द्रमा नै शिविर नै सञ्चालनको व्यवस्था मिलाइएको उनको भनाई छ । मकवानपुरको हेटौँडा बाहेकको स्थानीय तहमा शिविर सञ्चालन गरिने उनले बताए । हेटौँडा उपमहानगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयबाटै सवा प्रवाह गरिने उनले बताए ।प्रशासन कार्यालयका अनुसार एउटा शिविर टोली राक्सिराङ गाउँपालिकामा जेठ ३० गते (आज) देखि असार १ गतेसम्म शिविर सञ्चालन गर्नेछ । असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा र असार १५ गतेदेखि १८ गतेसम्म इन्द्रसरोवर गाउँपालिकामा शिविर सञ्चालन हुनेछ ।अर्को टोलीले बागमती गाउँपालिकामा जेठ ३१ गतेदेखि असार २ गतेसम्म, बकैया गाउँपालिकामा असार ४ गतेदेखि ७ गतेसम्म, मकवानपुरगढी गाउँपालिकामा असार ९ गतेदेखि १२ गतेसम्म, भीमफेदी गाउँपालिकामा असार १४ गतेदेखि १७ गतेसम्म र मनहरी गाउँपालिकामा असार १९ गतेदेखि २२ गतेसम्म राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्नेछ । शिविरमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले मात्रै सेवा प्राप्त गर्न सक्नेछन् ।
