काठमाडौं- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् ।नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल-भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।त्यसैगरी, उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए । शपथग्रहणपछि उनीहरूबीच भेटवार्ता भएको थियो ।सो भेटमा प्रधानमन्त्री दाहालले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा मोदीलाई बधाई दिनुका साथै उनको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।प्रधानमन्त्री दाहाल आइतबार साँझ नै भारतका राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए । उनी आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । उनको साथमा छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् ।प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
