फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युरोपेली संघ (इयु)को चुनावमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको पार्टी नेसनल र्यालीले ठूलो जित हासिल गरेपछि अचानक देशमा संसदीय निर्वाचनको घोषणा गरेका छन्। याे चुनाव यसै महिनाको अन्त्यमा हुनेछ।एक्जिट पोलका अनुसार अति दक्षिणपन्थी पार्टी नेसनल र्यालीले ३२ प्रतिशत मत प्राप्त गर्न सक्नेछ। जुन राष्ट्रपति म्याक्रोनको रेनेसास पार्टीको दोब्बर हो, रेनेसास पार्टीले १३ प्रतिशत मत प्राप्त गर्ने बताइएकाे छ।ले पेन यसअघि दुई पटकसम्म म्याक्रोसँग पराजित भएकी थिइन्। उनले संसदीय चुनावको मिति घोषणा हुनासाथ तत्काल प्रतिक्रिया सार्वजनिक गर्दै आफ्नो पार्टी सत्तामा आउन तयार रहेको बताएकी छन्।देशको संसद विघटन गर्ने घोषणा गर्दै म्याक्रोनले निर्वाचनका लागि जुन ३० र जुलाई ७ मा दुई चरणमा मतदान हुने बताए।म्याक्रोनले एक टेलिभिजन सम्बोधनमा यो आश्चर्यजनक घोषणा गरेका हुन्। युरोपियन युनियनमा फ्रान्सको मतदान सकिएपछि र एक्जिट पोलको नतिजा आएपछि उनले एलिसी प्यालेसबाट यो घोषणा गरेका हुन्।आफ्नो सम्बोधनमा म्याक्रोनले फ्रान्सका जनताले आगामी पुस्ताका लागि सही निर्णय लिनेमा आफू विश्वस्त रहेको बताए।म्याक्रोनको दोस्रो कार्यकाल पूरा हुन दुई वर्ष बाँकी छ र युरोपेली युनियनमा भएको यो मतले देशको राजनीतिमा प्रत्यक्ष असर नपर्ने भए पनि लोकप्रियता बिना काम गरिरहने हो भने यसले धेरै नोक्सान पुर्याउने उनकाे बुझाइ छ।यसअघि २८ वर्षीय नेसनल र्यालीका नेता जोर्डन बर्डेलाले संसदीय निर्वाचन गराउन राष्ट्रपतिलाई खुलेर आग्रह गरेका थिए।
