काठमाडौं, २५ माघ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुले ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गरेका छन् । अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी र वर्तमान उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देलसहितको ग्याङले गएराति १२ बजेतिरको समयमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको हो ।

प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि उनीहरुले सांघातिक आक्रमण गरेका थिए । मध्यरातमा होहल्ला गर्दै आएका उनीहरुलाई प्रहरीले सम्झाउन खोज्दा आक्रमण गरेको बताईएको छ । अहिले जोशी र सिग्देललगायत फरार रहेको बताइएको छ ।
अनेरास्ववियूका नेताहरुको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी हबल्दार घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको छ । त्यस्तै जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको बताइएको छ ।