मुम्बई । बलिउड अभिनेता सलमान खानमाथि आक्रमण गर्ने प्रयासलाई मुम्बई प्रहरीले फेरि असफल बनाएको छ । पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोईको गिरोहका चार जनालाई नवी मुम्बई प्रहरीले पक्राउ गरेको हो ।यी चारको पहिचान धनञ्जय उर्फ अजय कश्यप, गौरव भाटिया उर्फ न्हाई, वास्पी खान उर्फ वासिम चिकना र जिशान खान उर्फ जावेद खान रहेको छ । चारै जना विरुद्ध आईपीसीको धारा ११५, १२० (बी), ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यी चारै जना बिश्नोई गिरोहका सदस्य हुन् । यस्तो अवस्थामा प्रहरीले लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी बरारलगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ ।पाकिस्तानबाट एके–४७ लगायतका धेरै खतरनाक हतियार ल्याउने योजना रहेको प्रहरीले जनाएको छ । मिडिया रिपोर्टका अनुसार आक्रमणकारीहरूले एके–४७, एम-१६ र एके-९२ प्राप्त गर्ने प्रयास गरिरहेका थिए।उनीहरूले फार्म हाउस र धेरै ठाउँको रेकी गरेका थिए । प्रहरीले उनीहरूको मोबाइलबाट यस्ता धेरै भिडियो पनि बरामद गरेको छ ।यसअघि १४ अप्रिलमा पनि सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोलाबारी भएको थियो । दुई मोटरसाइकलमा आएका आक्रमणकारीले ५ राउन्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए । घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो ।
