काठमाडौं । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा अवस्थित कलम बम मेमोरियल इ. स्कुल शिक्षा क्षेत्रमा एक प्रेरणादायी नाम बनिसकेको छ। वि.सं. २०४८ मा स्वर्गीय कलम बम द्वारा स्थापित यो विद्यालय जिल्लाको मध्यवर्ती क्षेत्रको सबैभन्दा पुरानो संस्थागत विद्यालयको रूपमा चिनिन्छ। प्रारम्भमा पद्म निकुञ्ज नामले परिचित यस विद्यालयले अनेकौं चुनौतीको सामना गर्दै आजको उच्च स्थान हासिल गर्न सफल भएको छ।

स्थापना कालमै ग्रामीण समुदायलाई लक्षित गर्दै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको विद्यालय प्रारम्भिक वर्षहरूमा निकै चुनौतीपूर्ण थियो। योग्य शिक्षकको अभावलाई सम्बोधन गर्न संस्थापक प्रधानाध्यापक स्व. कलम बम ले दार्जलिङबाट समेत शिक्षकमण्डल ल्याई अध्ययन–अध्यापनको स्तर उकास्ने प्रयास गर्नुभएको थियो।
तर वि.सं. २०५२ मा सुरु भएको सशस्त्र द्वन्द्वको असर विद्यालयमा समेत पर्यो। विद्यालयले समयमा आगजनी, तालाबन्दी लगायतका अवरोध सहनु पर्यो। सबैभन्दा दुःखद क्षण वि.सं. २०५४ साल भाद्र २ गते संस्थापक कलम बमको हत्या भएको थियो। त्यस घटनाले विद्यालय मात्र होइन, सम्पूर्ण शिक्षा क्षेत्रलाई स्तब्ध बनायो।तर पनि विद्यालयले आफ्नो उद्देश्यमा कहिल्यै सम्झौता गरेन। कक्षा ५, ८, र स इ इ . परीक्षामा सधैं उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले आफ्नो गुणस्तर प्रमाणित गर्यो। वि.सं. २०६३ मा पहिलो पटक S.L.C. परीक्षा दिएका विद्यार्थीहरूले शतप्रतिशत सफलता हात पार्दा विद्यालयको छवि झनै उज्यालो भयो।
समयसँगै विद्यालयले आफ्नो संरचना, शैक्षिक कार्यक्रम र पूर्वाधारमा उल्लेखनीय सुधार गर्दै आएको छ। आजको दिनमा कलम बम मेमोरियल इ. स्कुल घोडाघोडी नगरपालिका क्षेत्रको एक आदर्श संस्थागत विद्यालयको रूपमा स्थापित भइसकेको छ।
विद्यालयले पहिलो S.E.E. परीक्षामै नगर क्षेत्रबाट A+ ग्रेड ल्याउने एक मात्र विद्यालय बन्न सफल भयो। शैक्षिक सत्र २०७८, २०७९ र २०८० मा आयोजित S.E.E. परीक्षामा तीन पटक लगातार नगर प्रथम हुने कीर्तिमान पनि यस विद्यालयले राखेको छ। त्यस्तै कक्षा ८ को नगरस्तरीय परीक्षामा समेत विद्यालयले निरन्तर सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएको छ।हाल विद्यालयमा पर्याप्त पूर्वाधार, अनुभवी शिक्षकमण्डल, नवीन शैक्षिक प्रविधिको प्रयोग, तथा छात्र–छात्राहरूको सर्वाङ्गिण विकासमा जोड दिइएको छ।
संस्थापक स्वर्गीय कलम बमको शिक्षा प्रति समर्पण, संघर्ष र बलिदानलाई सम्मान गर्दै अघि बढिरहेको कलम बम मेमोरियल इ. स्कुल आज देशकै ग्रामीण क्षेत्रका उत्कृष्ट शिक्षालयहरूमध्ये एक बनिसकेको छ। शिक्षा मात्र होइन, मूल्य र नैतिकताको पनि पाठ पढाउने यो विद्यालयले अझ धेरै सफलताको शिखर चढ्नेमा कुनै शंका छैन।