धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे थाक्रे गाउँपालिका–५, गैरिखर्कस्थित अन्दाजी ७० वर्षीय तेजबहादुर लामाको घरमा आगलागी भएको हो ।आगलागीमा परी तेजबहादुर र उनकी श्रीमती अन्दाजी ७० वर्षीया ठूली तामाङको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

राति करिब साढे १२ बजे प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणमा लिइएपछि जलेर मृत्यु भएको अवस्थामा लामा दम्पतीको शव फेला परेको सो कार्यालयले जनाएको छ । उनीहरूका छोराछोरी काठमाडौंमा बस्दै आएका छन् ।
ढुंगामाटोले बनाइएको जस्ताले छाएको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा अन्नबाली, लत्ताकपडा, मकै पिस्ने मिल जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
जलवायु परिवर्तनका कारण हिउँदमै पनि ठूलठूला आगलागीका घटना भएका छन्, अझ हुरीबतास चल्ने याम शुरू हुन लागेकाले सजकता अपनाउनु जरुरी छ।हिउँद र सुक्खा याममा आगलागीको जोखिम बढी हुन्छ। प्रतिकूल मौसम जस्ता प्राकृतिक कारण हुने आगलागीबाट कैयौंको ज्यान जान्छ, घाइते भएर जीवनभर दुःख पाउनु पर्ने हुन्छ। सानो असावधानीले करोडौंको धनमाल नष्ट हुन्छ।आगलागीको जोखिम कम गर्न सरकारी, निजी क्षेत्र तथा समुदायले अनवरत प्रयत्न गर्नु आवश्यक छ।