कैलाली। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि धनगढी आउने भएका छन् ।

पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन प्रचण्ड ल धनगढी आउन लागेका हुन्। प्रचण्ड सहित पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि धनगढी आउने भएका छन्। उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।
माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक भोलि बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदै छ । दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिएका छन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारे नेताहरूको सुझाव संकलन गर्नका लागि बैठक आयोजना गरिएको प्रदेश सचिव बुढाले बताए । पार्टी निर्माणका लागि नेताहरूको सुझाव संकलन गर्न माओवादीले सात वटै प्रदेशमा बैठकहरू तय गरेको छ । ‘पार्टीमा देखिएका समस्या, समाधानका उपाय तथा पार्टीलाई कसरी मजबुन बनाएर लैजाने भनेर प्रदेशका नेताहरूको राय, सुझाव संकलन गर्न लागिएको हो’ सचिव बुढाले भने, ‘पार्टी निर्माणबारे नेताहरूको धारणा बुझ्न सबै प्रदेशमा हाम्रो पार्टीले अहिले कार्यक्रम गरिरहेको छ ।’
सुदूरपश्चिममा पार्टीभित्र देखिएको विवादबारे पनि बैठकमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् । माओवादीले यसअघि बाग्मती र गण्डकीमा परामर्श बैठक सम्पन्न गरिसकेको छ ।