काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको यही अधिवेशनबाट पास गर्ने प्रतिबद्धता जनाएका छन् ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवादित विषयमा सहमति खोज्न गठित कार्यदलले बुधबार शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझेपछि प्रमुख प्रतिपक्षी दल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सहमति नेताहरुका लागि मात्र खुसीको विषय नभएको बताए । उनले अगाडि भने, ‘यसलाई मैले नयाँ सरकार बनेपछि भएको एउटा राम्रो काम ठानेको छु ।’
उनले यो विधेयकलाई संसदको यही अधिवेशनमा पेश गरेर पास गर्न समेत आग्रह गरे । ‘यसपटक फूल हाउसमा जाओस् र यसलाई टुंग्याइयोस् भन्ने मेरो चाहना छ । म सरकारसँग यसको निम्ति विशेष आग्रह गर्न चाहन्छु ।’ सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सहमतिअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउँदा विश्वका लागि अनुकरणीय हुने बताए । उनले भने, ‘यो काममा सबैलाई सफलता मिलोस् ।’
सहमतिका साथ अगाडि बढाइनेछ : प्रधानमन्त्री ओली
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन यो सहमति टर्निङ प्वाइन्ट भएको बताए । ‘अब कानुनका हिसाबले शान्ति प्रक्रियाको अन्तिम किस्ता बेपत्ताहरुको खोजबीन र सत्य निरुपणलाई अन्तिम रुप दिने कानुनी अन्यौल छैन, दुविधा छैन’, उनले भने ।
कार्यदलले जुटाएको सहमतिलाई संसदको कानुन समितिले सर्वसम्मत रुपमा पास गर्ने उनको विश्वास छ ।
‘पूर्ण हाउसबाट पनि यसै सदनमा नै पास गर्छौं । यसमा प्रतिक्षा गर्नुपर्ने कारण छैन’ उनले भने, ‘(कार्यदलले) हामीहरुसँग पनि परामर्श गरेर सहमति गरेको हो । अब पार्टीहरुको सहमति जुट्छ कि जुट्दैन भन्ने छैन । पार्टीहरुको सहमति छ ।’
उनले कानुन कार्यान्वयनमा पनि सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘कानुन पास गर्न हामी सबैको भूमिका छ नै । कार्यान्वयन गर्दा पनि जटिल परिस्थिति आउँछ, त्यसमा हामी सबै सहकार्य र सहमतिका साथ अगाडि बढ्न आवश्यक हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘आयोगहरुको गठन पुनर्गठन के–के गर्नुपर्छ, सहमतिका साथ अगाडि बढाइनेछ ।’