काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले बोर्डले अहिले विद्यार्थीले प्राप्त गरेको अंक रुजु गर्ने काम गरिरहेको र आगामी सातासम्म नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । उनका अनुसार बोर्डले परीक्षाको अधिकांश तयारी पूरा गरिसकेको छ । जतिसक्दो चाँडो नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड रहेको उनले बताए । उनले भने, ‘नतिजा प्रकाशनको अन्तिम तयारीमा छौँ । चाँडै नतिजा प्रकाशन गर्छौं।’ गत वैशाख १४ गतेबाट सञ्चालन भएको यस वर्षको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र रहेका छन् । बोर्डले जापानमा एक परीक्षा केन्द्रसहित देशभर १ हजार ५२६ परीक्षा केन्द्र तोकेको थियो । बोर्डका अनुसार गत वर्षभन्दा यस वर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थीको संख्या धेरै रहेको छ राष्ट्रिय परीक्षा बोर्डले सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा तोकेको थियो भने सबैभन्दा थोरै मनाङ र मुस्ताङमा तोकेको थियो । काठमाडौंमा १४४ परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले मनाङ र मुस्ताङमा एक–एक परीक्षा केन्द्र तोकेको थियो ।
