काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नहरूलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो । देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको छ । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् । अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये सबैभन्दा चर्चित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई हुन् । उनी मलेसियामा लुकेर बसेको अनुमान छ । यसअघिका गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गरेर नेपाल ल्याउने कोसिस भइरहेको बताएका थिए । त्यस्तै सहकारी ठगीको आरोपमा थुनामा रहेका व्यक्तिसँग पनि छलफल गर्ने भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि निर्देशन दिइएको उनले बताएका छन् । समिति संयोजक थापाले छानबिन समिति गठन भएपछि केही सहकारी सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरेको जानकारी प्राप्त भएको उल्लेख गरे । यसैबीच गृहमन्त्री लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् । समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए । ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ’, उनले भने, ‘सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु । समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाएका छन् । संयोजक थापा क्षेत्रीले सहकारीसम्बन्धी मुद्दामा जेलमा भएकाको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् । गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरूलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिए ।
