काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ ।त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए ।उनले आज साँझसम्ममा सबै शवको पोष्टमार्टम सकेर भोलि म्याचिङ गरी आफन्तको जिम्मा लगाइने बताए ।शव अत्यधिक रुपमा जलेका कारण पोष्टमार्टममा समस्या भएको बताए । उनले एउटा शव पोष्टमार्टमका लागि चारघण्टा समय लाग्नेसमेत बताए ।डा. चौधरीले त्रिवि शिक्षण अस्पतालको मात्रै जनशक्तिले अपुग हुने भएकाले पाटन र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको बताए ।हिजो बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज भुइँ छोडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो । दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भएको थियो । पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
