कलेजोले हामीले खाएको खानेकुराबाट प्राप्त पोषक तत्वलाई ग्रहण, प्रशोधन, रगत छान्नेदेखि संक्रमणविरुद्ध लड्छ । यस्तोमा कुनै कारणवश कलेजो सुन्निएर क्षति पुगेमा यसको कार्य प्रभावित हुन्छ ।

कलेजो सुन्निने प्रमुख कारण ‘हेपाटाइटिस’ हो ।
के हो त हेपाटाइटिस ?
कुनै कारणवश कलेजो सुन्निनु हेपाटाइटिस हो । जसको मुख्य कारण ‘हेपाटोट्रोपिक भाइरस’को संक्रमण हो । यो भाइरसले मौका पाउने बित्तिकै कलेजोलाई हमला गर्छ । फलस्वरुप कलेजो सुन्निंदै गई कालान्तरमा त्यहाँ रहेका कोषलाई क्षति गरी मार्नेसम्मको असर देखिन्छ ।
हेपाटाइटिस पनि धेरै प्रकार छन्, जसलाई हेपाटाइटिस ‘ए’, बी’, ‘सी’ ‘डी’ र ‘ई’ को नामले चिनिन्छ । यी सम्पूर्णले कलेजो रोग निम्ताउँछ । जसको कारण तथा उपचार भिन्नाभिन्न हुनसक्छ । जसमा सबैभन्दा बढी देखिने र कलेजोको दीर्घ समस्या ल्याउने टाइप बी र सी हुन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा ३ लाख ५४ हजारमा ‘बी’ र ‘सी’ छ । जुन लिभर सिरोसिस र यसको क्यान्सरको कारण बनेको छ ।
कुन हेपाटाइटिस कस्तो ?
हेपाटाइटिस ‘ए’ र ‘ई’ : दूषित पानी र खानपानबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हेपाटाइटिस ‘ए’ र ‘ई’ सर्न सक्छ ।
हेपाटाइटिस ‘बी’ र ‘सी’ : हेपाटाइटिस बी भनेको भाइरल संक्रमणले कलेजोलाई क्षति पुर्याउँछ । यो एक्युट (अस्थायी) र क्रोनिक (दीर्घ) दुवै हुनसक्छ । जुन आमाबाट प्रसबको समयमा बच्चामा सर्न सक्छ ।
संक्रामक व्यक्तिसँग यौन सम्बन्ध राख्दा वीर्य वा योनी रस र रगतमार्फत सर्न सक्छ । यो संक्रमण हेपाटाइटिस बी विरुद्ध सुईले रोकथाम गर्न सक्छ । सीको पहिचान नभएमा लिभर सिरोसिस, कलेजो क्यान्सर हुनसक्छ ।
हेपाटाइटिस ‘डी’ : एचडीभी भाइरस संक्रमणले कलेजो बिगार्नु हेपाटाइटिस डी हो । बी हुनेलाई पछि गएर हेपटाइटिस डी हुन सक्छ । तर यो विरलै मात्रामा देखिन्छ ।
कारण
भाइरल संक्रमण : विशेषगरी हेपाटाइटिस ए, हेपाटाइटिस बी र हेपाटाइटिस सी भाइरल संक्रमणको कारणले हुन्छ ।
स्वतः प्रतिरक्षा अवस्था : प्राय: शरीरको प्रतिरक्षा कोषिकाहरूले कलेजोका कोषिकाहरू क्षतिग्रस्त भएको संकेत गर्छ ।
अल्कोहोलिक हेपटाइटिस : मदिरा हाम्रो कलेजोले सिधै पाचन गर्छ । अत्याधिक मदिरा कलेजोले थेग्न सक्दैन र यसको काममा बाधा गर्छ । त्यसैले जब धेरै मदिरा सेवन गर्छ, त्यो व्यक्तिलाई हेपाटाइटिसको जोखिम बढ्छ । अत्याधिक मदिरा पिउने ४० प्रतिशतको कलेजो बिग्रिएर मृत्युकै मुखमा पुग्ने जोखिम रहन्छ ।
औषधिको साइड इफेक्ट : यो पनि हेपाटाइटिसको कारण हो । कतिपय औषधिको अत्याधिक सेवनले कलेजोका कोषिकाहरू सुन्निएर हेपाटाइटिसको जोखिम बढाउँछ ।
जडिबुटी भएका आयुर्वेदिक औषधिको जथाभावी प्रयोग, क्षयरोगको औषधि जस्ता केही एलोप्याथिक औषधिले पनि हेपाटाइटिस गराउन सक्छ ।
मोटोपन : अहिले मोटोपन पनि हेपाटाइटिसको कारण बनेको छ । मोटोपन भएपछि शरीरमा फ्याटी लिभर (अनावश्यक बोसो) बढ्छ । जसले कलेजोको कोषलाई क्षति गराई हेपाटाइटिस गराउन सक्छ । फ्याटी लिभर धेरै भएको अवस्थामा ३० प्रतिशतमा हेपाटाइटिसको जोखिम रहन्छ ।
लक्षण
एक्युट हेपाटाइटिसको स्पष्ट लक्षण देखिंदैन । यद्यपि, संक्रामक र दीर्घ हेपाटाइटिसमा यी लक्षण देखा पर्छन् ।
– जण्डिस
– चुरोटको लत लागेकालाई पिउँदा असहज अनुभव हुने
– पिसाबको रंगमा परिवर्तन
– अत्याधिक थकान
– बान्ता हुने वा वाकवाकी लाग्ने
– पेटको माथिको भाग सुन्निने र दुख्ने
– चिलाउने
– एक्कासि तौल घट्ने
– भोक कम लाग्ने वा लाग्दै नलाग्ने
जटिलता
हेपाटाइटिसको समयमा उपचार भएन र फैलिंदै गयो भने कलेजोले काम गर्न सक्दैन । जसले कलेजो फेल, क्यान्सर र लिभर सिरोसिस नै गराउन सक्छ ।
यस्तोमा दिमाग बेसुर हुने, रगत बाक्लो भएर एक ठाँउमा घोच्यो भने पनि रगत बगिरहने र शरीरमा निलो धब्बा देखिने लगायत गम्भीर लक्षण देखिनुका साथै ज्यान जाने जोखिम रहन्छ ।
कसरी जण्डिस गराउँछ ?
हामीले खाएको खाना पचाउन कलेजोबाट पित्त बाहिर निस्कन्छ । यस्तोमा संक्रमणले सुन्निएमा पित्त बग्ने बाटोमा अवरोध हुनसक्छ । त्यससँगै शरीरको पहेंलोपन व्यवस्थापन गर्ने बिलोरुविनले पनि काम गर्न नसक्दा जण्डिस हुनसक्छ ।
पहिचान
लक्षण र अवस्थाको गम्भीरताका आधारमा हेपाटाइटिसको पहिचान हुन्छ ।
– पेटको अल्ट्रासाउन्ड
– कलेजो कार्य परीक्षण
– ‘अटोइम्युन ब्लड मार्कर’ परीक्षण
– कलेजो बायोप्सी
उपचार
हेपाटाइटिस उपचार लक्षण, यसको प्रकृति र कारणअनुसार हुन्छ । अस्थायी ए र ई हेपाटाइटिस चिकित्सकको निगरानीमा केही हप्तामा कम हुन्छ । यो औषधिसँगै शरीरले बिस्तारै आफैं ठीक पार्छ ।
दीर्घ हेपाटाइटिस बी र सी भने उपचारबाट निको बनाउन सकिंदैन, नियन्त्रण मात्रै हुनसक्छ । हेपाटाइटिस सीको समयमै पहिचान र १२ सातासम्म सिफारिस गरिएको औषधि खाएमा ९५ प्रतिशत सफल उपचार गर्न सकिन्छ ।
त्यस्तै, बीको हकमा गम्भीरताको आधारमा उपचार सुरु भएपनि रोकथाम गर्न कठिन हुन्छ । कलेजो फेल भएमा कलेजो प्रत्यारोपण पनि एक विकल्प हो ।
हेपाटाइटिसमा आहार कस्तो हुनुपर्छ ?
स्वस्थ आहारको मद्दतले हेपाटाइटिसको समस्यालाई व्यवस्थापन गर्न सजिलो हुन्छ । यद्यपि, के खाने र कति खाने भन्ने कुरा यसको गम्भीरता र कलेजोको कति भाग सुन्निएको छ त्यसआधारमा निर्धारित गरिन्छ ।
– प्रशस्त पानी, ताजा फलफूल, गेडागुडीको झोल खाने, चिल्लो कम खाने, अण्डाको सेतो भाग खाने, आफ्नो खानामा प्याज र लसुन जस्ता परम्परागत मसलाहरू जिरा, बेसार समावेश गर्न सकिन्छ ।
– रक्सी, जंकफुड, परिष्कृत पिठोबाट बनेका खानेकुरा, प्रशोधित खानेकुरा खानुहुँदैन ।
कसरी बच्ने ?
– दूषित खानपानबाट बच्ने
– जथाभावी जडिबुटी र औषधि नखाने
– मोटोपन घटाउने र बढाउने औषधि भन्दै हचुवाको भरमा नखाने
– मदिरा नपिउने
– तौल नियन्त्रण गर्ने
– असुरक्षित यौन सम्बन्ध नराख्ने
– अरुले प्रयोग गरेको धारिलो हतियारबाट टाढा रहने ।