काठमाडौं: आईसीसी टी(२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप लामिछानेले सबैलाई धन्यवाद दिएका छन् ।विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले क्यान पदाधिकारीहरूको नाम जोडेर फैलाइएका प्रपोगाण्डामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् ।

उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् ।उनले भनेका छन्, ‘चतुर सर र पारस दाइजस्ता महत्त्वपूर्ण व्यक्तित्वहरूको छविलाई कलङ्कित गर्न झुटो प्रचार भइरहेको छ । त्यस्ता प्रपोगाण्डामा विश्वास नगर्नुहोला । उनीहरूकै पहल र सक्रियताले मेरो विश्वकप सहभागिता सम्भव भएको छ ।’
उनले लेखेका छन्, ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन,’ उनले भनेका छन्, ‘तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’
उनले थप लेखेका छन्, ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’