काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले देशमा सुशासन दिन नसकेको टिप्पणी गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले प्रधानमन्त्ती केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन दिन नसकेको र कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति अनुसार काम नभएको बताएका हुन् ।

‘सातबुँदे सहमति अनुसार सरकार अघि बढेको छैन । आर्थिक अवस्था सुधार भएन । सुशासन त छँदै छैन । यसो हुँदा राजनीतिक स्थिरता, आर्थिक विसंगति चिर्दै सरकार सुशासनमको मार्गमा हिँड्नुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने ।
नेता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने प्रष्ट पारेका छन् । पार्टीमा कुनै संस्थापन र इतर समूह नरहेको दाबी गर्दै उनले सिंगो कांग्रेस संस्थापन नै भएको बताए । ‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु’ उनले भनेका छन् ।
नेता कोइरालाले पार्टीको १५औं महाधिवेशन सार्ने खेल भइरहेको भन्दै आपत्ति जनाएका छन् । पार्टीका केही नेताहरु महाधिवेशन आगामी ८४ को चुनावपछि गर्ने बताईरहँदा कोइरालाले भने त्यसो भएमा पार्टीलाई ठूलो क्षति पुग्ने बताए । उनले पार्टीको महाधिवेशन समयमा नै हुने सुनिश्चितता गर्न सबैले खबरदारी गर्नुपर्ने बताएका छन् ।
‘कांग्रेस एक ढिक्का छ । हामी एउटै ठाउँमा छौँ । मैले धेरै पटक भनिरहेको छु कि समयमै महाधिवेशन गरौँ । पार्टी विधान र संविधानभन्दा बाहिर जानु हुँदैन । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ’, कोइरालाले भने ।
सत्तारुढ दल कांग्रेसको आगामी महाधिवेशन ०८२ सालको मंसिरमा गर्नुपर्ने छ । तर, पार्टीको विधानले दिएको एक वर्षे सुविधा र संविधानले दिएको अर्को ६ महिने सुविधालाई उपयोग गरेर कार्यकाल लम्ब्याउने सभापति देउवाको तयारी छ । कांग्रेसको विधान अनुसार दुई कार्यकाल मात्र सभापति हुन पाउने हुँदा अन्तिम कार्यकालको नेतृत्व गरिरहेका देउवा कम्तीमा डेढ वर्ष कार्यकाल लम्ब्याउन चाहान्छन् ।
कांग्रेसको विधान अनुसार हरेक ४ वर्षमा पार्टी महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, विशेष परिस्थित आएमा थप १ वर्षका लागि केन्द्रीय कार्यसमितिको म्याद थप्न मिल्ने व्यवस्था रहेको छ । सो व्यवस्थाको उपयोग गर्ने दाउमा देउवा छन् । उता, संविधानले पनि हरेर दलले ५ वर्षमा एकपटक महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । तोकिएको समयमा अधिवेशन हुन नसकेमा ६ महिना नबढ्ने गरि एक पटक म्याद थप्न पाइनेछ । दुवै व्यवस्थाको उपयोग गर्ने देउवाको रणनीति छ ।
यता सत्तारुढ दल नेकपा एमालेसँग भएको सहमति अुनसार देउवा ०८३ सालको असारमा प्रधानमन्त्री बन्नेछन् । कुनै राजनीतिक दुर्घटना नभएमा १७ महिना पछि छैटौं पटक प्रधानमन्त्री बन्ने निश्चित रहेका देउवा शक्तिमा भएको बेला पार्टी महाधिवेशन गर्न चाहान्छन् । आफू नेतृत्वबाट बाहिरिने अवस्थामा देउवाले पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा दउवालाई पार्टीमा स्थापीत गर्न चाहान्छन् । १६औं महाधिवेशनमा नेतृत्वमा ल्याउनेगरि देउवाले आरजुलाई उपसभापति बनाउन चाहेको कांग्रेस नेताहरु बताउछन् ।