सिमकोट- एउटा संरचना निर्माण गरिँदा अर्को संरचना भत्किने जोखिम रहेको पाइएको छ।सदरमुकाम सिमकोटस्थित खेल मैदानको उतरपट्टी ग्याबिन लगाउने काम हुँदा सिमकोट बिमानस्थललाई घेरवार गरिएको जाली सहितका खम्बा खस्ने जोखिम देखिएको हो।प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले खेल मैदानको उतरपट्टीको भागमा माटो कटिङ गरेर ग्याबिन भर्ने क्रममा सो ग्याबिन माथिल्लो जमिनसम्म नभरिदा सिमकोट बिमानस्थल घेरबार नै खस्ने जोखिम बढेको बताए ।त्यसमा दश फिट अग्लो ग्याबिन वाल लगाउनु पर्नेमा त्यो पूर्ण नलगाएर एक मिटर तलसम्म लगाइएको छ।उनले यसरी बिकास गर्नु र नगर्नुमा कुनै भिन्नता नभएको भन्दै प्राबिधिक रुपमा बिष्लेषण नगरी कुनै संरचना निर्माण गरिदा यो नियति भोग्नु पर्ने अबस्था आएको बताए।ग्याबिन वाल आबश्यकताका आधारमा नलगाएको कारण ९५ मिटर लम्बाई बिमानस्थलको घेरवार गरिएको जमिन खस्ने देखिएको हो।यो काम कर्णाली प्रदेश खेलकुद परिषदले निर्माण गरेको हो । यसका लागि खेल मैदान सम्याउने, दुबो छर्ने र उत्तरतर्फको जमिन काटेर ग्याबिन भर्ने कार्य गर्नका लागि समुन्द्र निर्माण सेवाले ७१ लख ८५ हजारमा निर्माणको जिम्मा लिएको हो।यो काम निर्माण कम्पनी पक्षले अन्तिम चरणमा पुगेको जनाएको छ।जमिनबाट निस्केको पानीको कारण केही जमिन भासिन सुरु भइ सकेको छ भने बर्खा लाग्न सुरु भएको कारण भासिने सम्भावना धेरै रहेको हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतले बताए।उनले हाल निर्माण गरिएको ग्याबिनलाई जमिनको भागसम्म ग्याबिन नभर्ने हो भने यसै बर्खामा सबै घेरबार भाँसिएर विमानस्थललाई क्षति पुग्नेृ निश्चित देखिएको बताए ।यसलाई तत्काल निर्माण गर्न आवश्यक देखिएको हो ।
