काठमाडौं । नेपाली कांग्रेस पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापति एवं फाल्गुनन्द गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सुखबिर नेम्वाङको निधन भएको छ ।

नेम्वाङको आज ५६ वर्षको उमेरमा निधन भयो । उनी क्यान्सरबाट पीडित थिए । स्वर्गीय नेम्वाङ स्थानीय तहको निर्वाचन २०७४ र २०७९ गरी दुई पटक वडाध्यक्ष पदमा विजयी भएका थिए । उनको निधनमा कांग्रेसले दुख व्यक्त गरेको छ ।
स्वर्गीय नेम्वाङले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
‘उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।