कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–४ भालुफाटा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जाँदै गरेको से ७ प ७६०१ नम्बरको मोटरसाइकलले नामथर नखुलेका पुरुषलाई ठक्कर दिएको थियो।
आइतबार राति १०ः४५ तिर भएको दुर्घटनामा करिब ५० वर्षीय पुरुष घाइते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–५ बस्ने २० वर्षीय रमेश जैगडी र से ७ प ७६०१ नम्बरको मोटरसाईकल चालक गौरीगंगा नगरपालिका–९ बस्ने १९ वर्षीय सागर विश्वकर्माको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।
त्यस्तै मोटरसाइकलमा पछाडि सवार गौरीगंगा नगरपालिका वडा नम्बर ९ कै १४ वर्षीया आचल विश्वकर्मा र १४ वर्षीया माया घोडशाही पनि घाइते भएका छन्। उनीहरूको पनि घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।