काठमाडौँ । यती एयरलाइन्सको पोखरामा भएको दुर्घटनाको भयावह दृश्य अझै ताजै छ । २०७९ माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–५०० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा अकस्मात सेती नदीको खोचमा झर्न पुगेको थियो ।उक्त विमानमा सवार ७२ जना यात्रु (चालक दलसहित) सबैको मृत्यु भएको थियो । सो दुर्घटनामा ४ जना रसियनसहित ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियन, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी गरी १५ जना विदेशी नागरिक र बाँकी ५३ जना नेपालीको मृत्यु भएको थियो ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित विमान दुर्घटना जाँचबुझ आयोगले तयार पारेको प्रारम्भिक प्रतिवेदनले विमान प्राविधिक कारणले नभइ मानवीय त्रुटिका कारणले दुर्घटना परेको निष्कर्ष तत्काल निकालेको थियो ।
आयोगले २०७९ फागुन ३ मा (दुर्घटनाको एक महिनापछि) सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा विमान अवतरणका क्रममा पाइलटबाट भएको त्रुटिका कारण दुवै इन्जिनका प्रोपेलर फेदरमा गएर पुनः नखुल्दा जहाज दुर्घटनामा परेको उल्लेख थियो ।
पछि आयोगले सार्वजनिक गरेको पूर्ण प्रतिवेदनमा पनि सोही कुरा उल्लेख गरियो । तथापि, विमान दुर्घटनाको वास्तविक कारण के थियो भन्ने अझै रहस्यमय नै छ ।
तर, ७२ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाको बीमा दाबी भुक्तानीको पाटो भने करिब डेढ वर्षपछि हालैमात्र टुङ्गिएको छ । लामो रस्साकसी र विवादका बिच बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र बीमित यती एयरलाइन्सबिच सहमतिमा बीमा दाबी भुक्तानीको हिसाबकिताब राफसाफ भएको हो ।
‘नो क्लेम डिस्काउन्ट’ रकम तिर्न कम्पनी बाध्य
दुर्घटनामा परेको यती एयरलाइन्सको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गरेको थियो । कम्पनीले बीमा जोखिमको न्यून अंश आफूमा राखेर बाँकी जोखिम दायित्व विभिन्न विदेशी पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेको थियो ।
नेपाल बीमा प्राधिकरणका अनुसार यती एयरलाइन्सले दुर्घटनामा परेको जहाजको मात्र ५० लाख अमेरिकी डलर बराबरको दुर्घटना जोखिम बीमा गरेको थियो । यस्तै उडानका क्रममा रहने पाइलट र को–पाइलटको एक/एक लाख अमेरिकी डलर, एयर होस्टेसहरूको प्रतिव्यक्ति ४० हजार डलर र यात्रुहरूको प्रतिव्यक्ति २० हजार अमेरिकी डलरका दरले बीमालेख करार (सम्झौता) गरेको थियो ।
तर, बीमक र बीमित दुई पक्षको सम्झौता अनुसार यती एयरलाइन्सले उक्त दुर्घटनामा परेको विमानको प्रिमियम भुक्तानीमा अग्रिम नो–क्लेम डिस्काउन्ट (एनसीडी) सुविधा उपभोग गरेको थियो । बीमितले बीमालेखा (पोलिसी) खरिद गरेको एक वर्षसम्म पनि कुनै दाबी भुक्तानी माग नगरेमा अर्को वर्ष प्रिमियममा छुट माग्न सक्ने र यस्तो छुट दुई पक्षको सहमतिमा बीमा कम्पनीले दिन सक्ने व्यवस्था ऐनमै छ ।
सोही व्यवस्था बमोजिम यती एयरलाइन्सले करिब ३ करोड ५६ लाख रुपैयाँ नो क्लेम डिस्काउन्ट प्रिमियम छुट लिएको थियो । तर, दुर्भाग्यवस छुट लिएकै सोही वर्ष जहाज दुर्घटना प-यो । यती एयरलाइन्सले बीमा पोलिसी अनुसार कम्पनीसँग बीमा दाबी भुक्तानी माग ग-यो । तर यता बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्सले पहिला छुट दिएको एनसीडी तिर्न अनिमात्र भुक्तानी दिने अड्को थाप्यो । तर, कम्पनीले छुट लिइसकेको प्रिमियम नतिर्ने बतायो ।
बीमा लेखको पुनर्बीमा विदेशी कम्पनीहरुसँग गरिएकाले उतैबाट एनसीडीको भुक्तानी माग भएकाले जसरी पनि तिर्नुपर्ने दबाब हिमालय एभरेष्ट इन्स्योरेन्सले दिइरह्यो । अन्ततः यो मुद्दा नियामक बीमा प्राधिकरणसम्म पुग्यो ।
बीमक र बीमित दुई पक्षबिचको लामो विवादपछि हालैमात्र समस्या सल्टिएको बीमा प्राधिकरणको गुनासो व्यवस्था विभागका उपनिर्देशक विरोध भट्टले रातोपाटीलाई जानकारी दिए ।
‘दुई पक्ष बिचको सम्झौता बीमालेख खरिदबिक्रीका क्रममा नो–क्लेम डिस्काउन्ट लिनेदिने भएको रहेछ । दुर्भाग्यबस सोही वर्ष जहाज दुर्घटनामा प-यो । बीमा कम्पनीले डिस्काउन्ट प्रिमियम तिर्न ताकेता गर्ने र यता बीमित कम्पनीले डिस्काउन्ट प्रिमियम तिर्न पर्दैन भन्ने विवादकै बिच यो मुद्दा प्राधिकरणमा आयो । लामो प्रयासपछि प्राधिकरणले दुवै पक्षलाई सहमति गराएर मुद्दा सल्टाएको छ,’ भट्टले रातोपाटीसँग भने, ‘यती एयरलाइन्सले एनसीडी बापतको रकम तिर्ने भएपछि मात्र सहमति जुटेको हो ।’
उपनिर्देशक भट्टका अनुसार यती एयरलाइन्सले ३ करोड ५६ लाख रुपैयाँ बराबरको एनसीडी तिर्न तयार भएपछि समस्याको समाधान भएको हो ।
तर,सोही दाबी भुक्तानीको मुद्दामा बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सीईओ बर्खास्तसम्मको घटना घट्न पुगेको चर्चा चलेको छ । इन्स्योरेन्सका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले यती एयरलाइन्स दुर्घटना प्रकरणमा बीमा दाबी भुक्तानी दिन नमानेको भन्दै उनलाई पदावधि रहेकै अवस्थामा सञ्चालक समितिले बर्खास्त गरेको चर्चा चुलिएको छ ।
बीमा दाबी भुक्तानीका लागि निरन्तर दबाब आइरहेपछि सञ्चालक समितिले भुक्तानी दिन शाहलाई पहिले नै निर्देशन गरेको थियो । तर शाहले सञ्चालक समितिको निर्देशनसमेत नमानेपछि विदेश भ्रमणमा रहेकै अवस्थामा उनलाई पदमुक्त गरेको बुझिएको छ । यस विषयमा हिमालयन एभरेष्ट कम्पनीले दाबी भुक्तानीको मुद्दामा सीईओ शाहलाई बर्खास्त नगरिएको दाबी गरेको छ ।
यता यती एयरलाइन्सले पनि बीमा दाबी भुक्तानीको सन्दर्भमा बीमा कम्पनी र एयरलाइन्सबिच त्यस्तो कुनै विवाद नरहेको र दाबी भुक्तानी समेत पूर्ण रूपमा भइसकेको जनाएको छ ।