डोटी । सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधारगृह सञ्चालनमा रहेको छ । डोटीको सिलगढीमा रहेको यस बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका राखिएका छन् ।

जसका कारण बालबालिकाको सुधार तथा व्यवस्थापनमा समस्या हुने गरेको छ । २५ जनाको क्षमता भएको सुधारगृहमा ५३ जना बालबालिका हुँदा निकै समस्या रहेको बताइन्छ । क्षमताभन्दा बढी बालबालिका भएका कारण व्यवस्थापनमा समस्या भएको बाल सुधारगृहका निमित्त प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताइन् ।
सुधारगृहमा ११ देखि २३ वर्षसम्म उमेरका बालबालिका छन् । गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोग लागेका बालबालिकालाई सुधारगृहमा राख्ने गरिएको छ । यस बालगृहमा क्षमताभन्दा बढी बालबालिका भएपछि तराईका कैलाली र कञ्चनपुरका बालबालिकालाई बाँकेमा रहेको सुधारगृहमा पठाउने गरिएको छ । २०७५ सालअघि १६ वर्ष उमेर पार गरेका बालबालिकालाई कारागार पठाउने गरिन्थ्यो । बालबालिका ऐन २०७५ जारी भएपछि भने १६ वर्ष उमेर पार गरिसकेपछि पनि सुधारगृहमै राख्नुपर्ने व्यवस्था गरिएको छ ।
कानुनी व्याख्या अनुुसार बालबालिकाको उमेर पार भइसकेपछि पनि सुधारगृहमा नै राख्नुुपर्ने भएकाले बालबालिकाको सङ्ख्या वृद्धि हुुँदै गएको निमित्त प्रशासकीय अधिकृत लिम्बूले बताइन । बाल सुधारगृह पनि साबिकको महिला विकास कार्यालयमा राखिएको छ । यहाँ बालबालिकाका लागि सुत्ने व्यवस्थासमेत पर्याप्त छैन । उक्त भवनको हलभित्र सुत्ने व्यवस्था गरिएको छ । फराकिलो संरचना नहुँदा सुधारगृहका बालबालिका एकै स्थानमा कोचिएर बस्न बाध्य छन् ।
“बालबालिकाको चौतर्फी विकास हुने गरी सुधारगृहमा राख्नुपर्ने हो,” सुधारगृहमा राखिएका अछामका एक बालकका अभिभावकले भन्नुुभयो, “खेल्नका लागि मैदान छैन, बस्नका लागि उचित व्यवस्था छैन । आपसमा कुुटाकुुट गर्ने गरेको खबर आउँछ, सुधारगृह होइन यातना गृह जस्तै भएको छ ।” सुधारगृहका लागि भौतिक संरचना नै उपयुक्त नभएको गुनासो आउन थालेको छ । बालबालिका भाग्न सक्ने जोखिम पन उत्तिकै रहेको छ । भवन वरिपरि काँडेतार लगाई सुरक्षा दिने व्यवस्था गरिएको छ ।
सङ्ख्यात्मक रूपमा बालबालिका बढी भए पनि जेनतेन व्यवस्थापन भइरहेको सुधारगृह व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। सुधारगृहका लागि फराकिलो व्यवस्थित संरचनाको आवश्यकता छ, खेल मैदानको अभाव छ, सुत्न कोठा, नुहाउन धारा, पानी र अन्य सामग्री छैनन् । क्षमताभन्दा बढी बालबालिका भए पनि जेनतेन व्यवस्थापन भइरहेको बताइन्छ ।
सुधारगृहमा जबरजस्ती करणी र कर्तव्यज्यान मुुद्दामा संलग्न बालबालिका धेरै रहेका छन् । जबरजस्ती करणी मुद्दाका ३३, कर्तव्यज्यान मुद्दाका १४, चोरी मुुद्दाका चार, सवारी ज्यान र आत्माहत्या दुरुत्साहनलगायत ५३ जना बालबालिका रहेका छन् । डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला र डडेलधुरा जिल्लाका बालबालिका यहाँको सुधारगृहमा राख्ने गरिएको छ । देशभरमा जम्मा आठ वटा बाल सुधारगृह मात्र स्थापना भएका छन् । सोमध्ये डोटीमा रहेको यो सुधारगृह एक हो ।गोरखापत्रबाट