खगेन्द्र अबस्थि काठमाडौँ । डोटीको के आई सिंह गाउपालिका -४ मा पर्ने डोटी वायल प्राकृतिक रूपमा निकै सुन्दर र रमणीय छ । ऐतिहासिक धार्मिक शक्तिपीठ दुर्गा माताको पवित्र भूमि हो। यसैले धार्मिक आस्था मात्रै होइन्, प्रकृतिसँग रमाउन खोज्नेका लागि पनि डोटी वायल गतिलो गन्तव्य हो। यस क्षेत्रलाई धेरैले बगड डोटी भनेर पनि चिन्ने गरेका छन्।

चारैतिर डाँडा काँडाले घेरेको बीचमा समथर खेतियोग्य उर्भर भूमिले यो क्षेत्र घुम्न आउने जो कसैको मन लोभ्याउँछ। बीचमा मैदान र यसकाे चारैतिर पालेबन वन क्षेत्र अनि पालेबन क्षेत्रबाट बगेर आएको डोटी खोलाको कलकल बग्ने चिसोपानीले जो कसैको मन लाेभ्याउँछ ।
डोटी खोलाको पुछारमा रहेको दुर्गा माताको मन्दिरमा दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन्। वरिपरि रहेको पालेबन वन क्षेत्र त्यसमा फूलेका रंगिविरंगीं फूल, विभिन्न प्रजातिका चराको चिरिविर आवाजले जो कसैलाई स्वर्गमा पुगेको अनुभुति हुन्छ। पालेबन वन क्षेत्रबाट देखिने सेताम्मे हिमाल। आहा ! कति सुन्दर शान्त र रमणीय। डोटी वायल प्राकृतिक सौन्दर्यताको खानी हो र एक पटक पुग्नैपर्ने गन्तव्य पनि। यो क्षेत्र स्वर्गको एक टुक्राजस्तै छ ।
चैत, वैशाख महिना यहाँका वनहरुमा रगिंविरंगी फुलेका लालीगुँरास देख्न पाइन्छ भने साउन, भदौ महिनामा राेपाइँ सकिएर बनेका ती हरीयाली फाँटहरु देख्न पाइन्छ। डाक्टर के.आई. सिंह अर्थात् कुँवर इन्द्रजीत सिंहको जन्म स्थान भय पनि यस क्षेत्रकाे विकासमा उल्लेखनीय प्रगती हुन सकेकाे छैन । सिंह नेपालका २० औं प्रधानमन्त्री पनि थिए।
प्रायः यहाँका मानिसहरु खेति किसानी गरेर आफ्नो जिविकोपार्जन गर्ने गर्दछन्। धान, गहुँ, जौ कोदो, मकै, भटमासजस्ता अन्नवालीका लागि यो क्षेत्र निकै प्रख्यात छ। यहाँका किसानहरुले लगाएको तरकारी देशका विभिन्न क्षेत्रमा बिक्री वितरण हुने गरेको छ। आलु खेतिका लागी प्रख्यात यस क्षेत्रलाई सरकारले आलु पकेट क्षेत्र घोषणा गरिसकेको छ। स्याउ, आरु, नास्पति, सुन्तला, जुनार, ओखर, कागतिजस्ता फलफूल उत्पादनका लागि पनि यो क्षेत्र महत्वपूर्ण छ।
प्रचारप्रसारको अभावमा सुदुरपश्चिमका कतिपय पर्यटकीय स्थल ओझेलमा पर्दै गएका छन्। यस क्षेत्रमा गाइने फाग, डेउडा मन नपराउने सायदै कोही होलान् । यस क्षेत्रका मानिसहरुको खानपान, रहनसहन, भेषभुषा, भाषाशैली अरु भन्दा बेग्लै छ।
तस्बिर : खगेन्द्र भट्ट डोटी