बुधबार बिहान मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थान र सुदूरपश्चिमका एकदुई स्थानमा हल्कादेखि मध्यम तथा बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा बिहान भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा बागमती, गण्डकी र कर्णालीका एक-दु स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ।
राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ।
बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिन अनुसार वर्षाका कारण ८ जिल्ला र त्यस आसपास भई बहने अधिकांश ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।
सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला र त्यस आसपास बहने साना नदीहरूको वहाब बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको पूर्वानुमान छ।
बाढीको जोखिम रहेका स्थान र तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।