काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बनेका छन् ।भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् ।२०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला सुरु भएकोमा अहिले फेरि श्रममन्त्रीसम्म आइपुगेको छ । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिनाविभागीय, खेलकुद मन्त्रालय, स्वास्थ्य, पर्यटन, रक्षा, ऊर्जा जलस्रोत हुँदै श्रम मन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका छन् ।भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै व्यवस्था वा सरकार परिवर्तन हुँदा अवसरबाट वञ्चित भएका हुँदैनन् । पंचायत बदलिएर प्रजातन्त्र आउँदा होस् वा गणतन्त्र आउँदा होस्, उनी मन्त्री बन्ने क्रम अहिले पनि जारी रहेको छ । उनको नाममा सबै व्यवस्थामा मन्त्री बनेको नयाँ कीर्तिमान छ ।

को हुन् शरदसिंह भण्डारी?
३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका शरतसिंह भण्डारी नेपाली कांग्रेसमा आबद्ध भएका थिए। ०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी अहिलेसम्म पटक–पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन्।०६२/०६३ सालको आन्दोलनपछि बनेको अन्तरिम संसदमा नेपाली कांग्रेसबाट सांसद रहेकै वेला मधेसमा भएको मधेस आन्दोलनमा नेपाली कांग्रेस परित्याग गर्दै मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए। फोरमबाट टिकट पाएर चुनाव जितेर पहिलो संविधानसभामा चुनिएपछि रक्षामन्त्री भएका वेला उनले दिएको विवादास्पद अभिव्यक्तिका कारण रक्षामन्त्रीबाट उनलाई बर्खास्त गरिएको थियो।
०६४ साल फागुन १६ गते नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको ८ बुँदे सम्झौताअनुसार नेपाली सेनामा मधेसी समुदायको समूहगत प्रवेशको विषय उठाउँदा विभेद अन्त्य नभए देशसमेत विखण्डन हुन सक्ने अभिव्यक्ति रक्षामन्त्रीको हैसियतमा व्यक्त गरेपछि उनलाई बर्खास्त गरिएको थियो। त्यसपछि उनले छुट्टै राष्ट्रिय मधेस समाजवादी पार्टी खोलेर तराई मधेसमा जनजागरण अभियान खोलेका थिए।पटक–पटक मन्त्री भइसकेका भण्डारी दोस्रो संविधानसभाको निर्वाचनमा महोत्तरीको क्षेत्र नं. १ र ६ बाट पराजित भएका थिए। अहिले राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य समेत छन्।
यसअघि यसै समाचारमा २० औँ पटक हुनुपर्नेमा असावधानीवश १७ औँ पटक उल्लेख भएकाले सच्याएका छौँ । -सम्पादक