चितवन — नारायणगढ बजारदेखि २२ किमि उत्तरपूर्व मुग्लिन जाने बाटोमा पर्ने सिमलतालमा शुक्रबार झिसमिसे नहुँदै पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमा सवार कम्तीमा ५० यात्रुको अवस्था अझै अज्ञात छ । पहिरोले बगाएका दुईमध्ये एउटा बसका तीन यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन् ।

भरतपुर महानगरपालिका–२९ मा पर्ने सिमलतालमा भएको दुर्घटनामा दुवै बसमा कति यात्रु सवार थिए र तिनीहरू कहाँका थिए भन्ने पूरै विवरण सार्वजनिक हुन सकेको छैन । वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतटहटको सदरमुकाम जाँदै गरेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूली नदीमा पुर्याएको हो ।
एञ्जल यातायातको बसमा २४ जना रहेको विवरण आए पनि १७ यात्रुको मात्रै नाम ठेगाना प्राप्त भएको र गणपति यातायातको बसमा ३० जना सवार रहेको विवरण आए पनि २६ यात्रुको मात्रै नाम ठेगाना प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले बताए । हामफालेर सकुशल बाँच्न सफल तीन यात्रु भने गणपति यातायातको बसका हुन् । पहिरोले दुई बस बगाएको घटना देखेका अर्का एक बसका चालकले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेका थिए । सीडीओका अनुसार जानकारी प्राप्त हुँदा बिहानको ४ः१५ बजेको थियो । घटनालगत्तै प्रहरीको टोली परिचालन भए पनि नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली ८ बजेपछि मात्रै खोजी कार्यमा जुटेको थियो ।
सशस्त्र प्रहरीका १२ गोताखोरसहित ७० जना र नेपाली सेनाका ५ गोताखोरसहित ५५ जना बेपत्ता यात्रुको खोजीमा जुटेका थिए । तर त्रिशूली नदीमा आएको बाढी र पानीको बहाव निकै तेज रहेका कारण गोताखोरहरूले बस डुबेको ठाउँसमेत पहिचान गर्न सकेका छैनन् ।
सशस्त्र प्रहरी बल चितवन कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले गोताखोरसहितको टोलीले बाँस र रडले पानीभित्र खोतली रहे पनि बस रहेको संकेत पाउन नसकिएको बताए । शनिबार पुनः जारी राख्ने गरी शुक्रबार साँझ पौन सात बजे उद्धार स्थगित गरिएको छ । उद्धारका क्रममा बसको झ्यालको पर्दा र बच्चाको एउटा सुरुवाल भेटिएको छ ।
नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको फराकिलो बनाउने भन्दै २०७२ वैशाखमा सुरु सडक विस्तारको काम २०७५ हिउँदमा सकिएको थियो । सडक स्तरोन्नतिका काम भएसँगै यहाँ सानाठूला पहिरो हरेक वर्षजसो गइरहेका छन् । २०७४ असार ८ को राति नारायणगढ–मुग्लिन सडकको कालीखोलामा पहिरोले इलाका प्रहरी कार्यालय मुग्लिनको भ्यान नै बगाएको थियो । भ्यानमा रहेका प्रहरी सहायक निरीक्षक र एक जवानको शव भेटिए पनि दुई जवान बेपत्ता भएका थिए । दुई थान एसएलआर हतियार पनि भेटिएको थिएन ।
भरतपुर डिभिजन सडक कार्यालयका अनुसार शुक्रबार पहिरो गएकै ठाउँमा असार ८ को बिहान पनि पहिरो खसेर सडक थुनिएको थियो । तत्कालीन नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार सडक विस्तारसँगै २९ ठाउँमा पहिरोको जोखिम बढेको बताइएको थियो । ती ठाउँमा पहिरो नियन्त्रणका काम भए पनि कालीखोला, तोपेखोल, तुइन खोला जस्ता ठाउँमा पहिरोले हरेक वर्ष बाटो थुन्दै आएको छ । सिमलतालमा भने पहिलोपल्ट यो वर्ष पहिरो सुरु भएको हो ।
त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख लालुप्रसाद पौडेलले मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नतिका क्रममा पहिरोको जोखिमको अध्ययन नै नगरी सडक चौडा पारिएकाले पहिरोको घटना भएको बताए । २०१५ अप्रिल २० देखि उक्त सडकखण्डको स्तरोन्नति सुरु गरिएको थियो । २०७५ असार २० मा कान्तिपुरसँग कुरा गर्दै नारायगढ–मुग्लिन सडक विस्तार आयोजनाका तत्कालीन सूचना अधिकारी शिव खनालले भनेका थिए, ‘समस्या डिजाइनले गर्दा भएको हो, सुरुमा डिजाइनले गर्दा धेरै खर्च आयो, पछि धेरै कुरा हटाएर निर्माण सुरु गरिएको हो ।’
तत्कालीन सूचना अधिकारी खनालको जानकारीले पनि पहिरोको जोखिम पुष्टि गर्छ । पौडेल भन्छन्, ‘सडक चौडा पार्न पहाडको फेदी काट्ने काम बिनाअध्ययन जसरी गरियो, त्यसैको प्रतिफल यो घटना हो । यस्ता काम देशका कैयन् सडकमा भएका छन् ।’ उनले सडक निर्माण वा विस्तारका क्रममा छेउछाउका पहाडको भौगर्भिक अध्ययन नगरी काम गर्ने परिपाटीले यस्ता घटना बढाएको बताए ।
तीन यात्रु यसरी बाँचे
काठमाडौंबाट गौर जाँदै गरेको गणपति यातायातको बसबाट हामफालेर बाँच्न सफल यात्रु हुन्, रौतहटको गरुवा नगरपालिका–९ का जुगेश्वर राय यादव, रौतहटकै गोनाही नगरपालिका–१ का नन्दन दास र रौतहटकै सरोज गुप्ता । तीनमध्ये गुप्ता भरतपुरको सरकारी अस्पतालमा सामान्य उपचारपछि ‘डिस्चार्ज’ भइसकेका छन् भने बाँकी दुई जनाको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
छोराछोरीको उपचार सकेर काठमाडौंबाट घर फर्किंदै गरेका जुगेश्वरसँग बसमा थिए, उनकी एक छोरी, एक नाति, एक नातिनी र १० वर्षे छोरा । भन्छन्, ‘अहिले म यहाँ अस्पतालमा छु, अरू सबै त्यही बसमै परे ।’ उनले सिमलतालतर्फ आउँदै गर्दा पहिरो आएको खबर पाएपछि एकैछिन रोकेर पहिरो हट्यो भनिएपछि बस अघि बढाउँदा दुर्घटना भएको बताए । ‘बस पाँच बल्ड्याङ खायो र पानीमा गयो । म कसो कसो पौडी खेलेर माथि सडकमा आएँ ।’
अर्का यात्रु नन्दन दास भने वैदेशिक रोजगारीमा बहराइन जाने तयारी गर्न काठमाडौं गएका थिए । पासपोर्ट बुझाएर घर फर्कने क्रममा भएको दुर्घटनमा उनी धन्न बाँचे । उनले बस पल्टेर नदीमा पुगेपछि भित्र छिरेको पानीको वेगले आफूलाई झ्यालबाहिर हुत्याएको बताए । पौडी खेल्न जानेका नन्दन पौडिँदै नदी किनारमा आएर बाँच्न सफल भए ।
बसमा पहिरोको ढुंगाले लाग्दा चालकको मृत्यु
नारायणगढ–मुग्लिन खण्डको १७ किलोमा पहिरोमा परी अर्का बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको बसको अघिल्लो भागमा ठूलो ढुंगा खसेको थियो । चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले चालक मेघनाथ विश्वकर्माको निधन भएको जनाए ।