काठमाडौं । कांग्रेसको समर्थनमा बन्न लागेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा को को जाँदैछन् भन्ने टुंगो लागिनसके पनि दुवै पार्टीमा यसबारे चर्चा बाक्लिएको छ ।

एमालेबाट अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेल जाने पक्का रहेको पार्टी उच्च नेतृत्वले जानकारी दियो ।चुनाव जितेको सांसद हुनुपर्ने, अनि अहिले देखिएको संकट टार्न भूमिका खेल्न सक्ने नेता नै मन्त्री बन्ने मापदण्ड बनाएको अवस्थामा एमालेबाट पौडेल निर्विकल्प रहेको पार्टी स्रोतले बतायो ।
पार्टीले व्यक्तिका बारेमा औपचारिक निर्णय भने गरेको छैन । यद्यपि अध्यक्ष केपी ओलीले आफ्नो अनौपचारिक तयारी र परामर्श गरिरहेका छन् ।
पौडेललाई यसअघि एमाले–माओवादी गठबन्धनमा पठाउन खोजिए पनि उनी तयार भएका थिएनन् । यसअघि ओलीकै मन्त्रिपरिषद्मा ०७७ असोजमा पौडेल अर्थमन्त्री बनेका थिए । ०७९ को आम चुनावलगत्तै प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा उनी फेरि अर्थमन्त्री थिए । कांग्रेससँग माओवादीको समीकरण बनेलगत्तै उनी ६४ दिनमै बाहिरिएका थिए ।
‘सचिवालय बैठकले मन्त्री बन्ने मापदण्ड र प्राथमिकताबारे धारणा बनाएको छ’, एक पदाधिकारीले भने, ‘चुनाव जितेर सांसद भएका, अनि सरकारमा गएर राष्ट्रिय संकटका बेला पर्फमेन्स गर्न सक्ने व्यक्तिकै खोजी भइरहेको छ । अर्थमन्त्रीमा विष्णुजीको नाम आवश्यक र स्वभाविक दुवै हो भनेर पार्टीमा कुरा भएको छ ।’
उपाध्यक्ष पौडेलले भने आफू अर्थमन्त्री बन्ने कुरा थाहा नभएको बताए । ‘कतै चर्चा या आकलन भएको होला, तर मलाई थाहा भएन’, उनले भने, ‘अहिलेसम्म एमालेबाट एउटै मन्त्री पक्का हो, प्रधानमन्त्री । बाँकी समय आएपछि थाहा भइहाल्छ ।’
एमालेबाट अर्थमन्त्री बन्न सक्ने सम्भावित पात्रमा महासचिव शंकर पोखरेल, नेता सुरेन्द्र पाण्डे लगायत भए पनि उनीहरु संसद सदस्य नरहेकाले पौडेल निर्विकल्पजस्तै बन्न गएका हुन् । प्रचण्डको मन्त्रिपरिषद्मा एमालेले कम अनुभव र एक्सपोजर भएका पात्रहरु पठाए पनि यसपल्ट त्यसो नगर्ने संकेत गरेको छ । ‘अनुभवी र परिस्थिति झेल्न सक्ने, परिणाम दिन सक्ने पात्र नै जान्छ, कुनै कमजोरी गर्दैनौं’, ती नेताले भने ।
एमाले कार्यालयभित्र विभिन्न केन्द्रीय विभागहरुले आफ्नो भागमा सम्बन्धित मन्त्रालय पार्न लबिइङ बढाएका छन् । बुधबार बैठक राख्दै स्वास्थ्य विभागले एमालेको भागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पर्नुपर्ने भन्दै नेताहरुलाई अपिल गरेको थियो । अरु विभाग र व्यक्तिहरुले पनि नेतृत्वसँग दबाब बढाउन थालेको पार्टीस्रोतले बतायो ।