काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा उनले यस्तो सुझाव दिएका हुन् ।

अध्यक्ष ढकालले निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको उल्लेख गरे । उनले नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेकाले मनोबल उच्च बनाउने मौद्रिक नीति अहिलेको आवश्यकता भएको बताए । उनले गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकहरुलाई प्रोत्साहन गरिनु पर्ने बताए ।अध्यक्ष ढकालले सबै ऋणीले नियतबस कर्जा नतिरेको नभई वास्तविक रूपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको बताए । उनले कर्जा चुक्ता गरेलगत्तै व्यवसायी तथा कम्पनीलाई कालोसूचीबाट हटाउने व्यवस्था गर्न सुझाव राखे ।
प्रकाशित :- २०८१ असार २५, मंगलवार १२:५५