किभ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका थिए । यस भेटघाटलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निकै निराशाजनक बताएका छन् । यसलाई उनले शान्ति प्रयासमा विध्वंसकारी झट्का समेत भनेका छन् । रुसले किभमा रहेको बाल अस्पतालमाथि आक्रमण गरेर ध्वस्त पारेकै दिन दुईबिच भेटघाट भएको थियो ।मस्को बाहिर नोभो–ओगार्योभोमा रहेको पुटिनको भवनमा मोदीले पुटिनलाई भेटेका थिए । दुई नेताबिच भेटघाट चलिरहँदा ९०० किमी पर युक्रेनी सहरहरूमा रुसी मिसाइल आक्रमणमा परेर कम्तीमा ३७ जनाको मृत्यु भएको थियो । यस आक्रमणमा अरू १७० जना घाइते भएका थिए । मोदी यतिबेला तीन दिने रुस–अस्ट्रिया भ्रमणमा छन् । मोदीको यो पाँच वर्षयताको पहिलो रुस भ्रमण हो । मोदी र पुटिन एक अर्कालाई अङ्कमाल गरेपछि चिया पिएर गफगाफ गरेको, विद्युतीय सवारी साधन चढेको र घोडा दौड प्रतियोगिता हेरेको भेटघाटपछि बाहिरिएका तस्बिरले देखाएका थिए ।
