काभ्रेपलाञ्चोक- पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ ।सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका- ८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।सडक माथिबाट पहिरो खसिरहेकाले रातभर पन्छाउन असहज भएकामा बिहान ७ बजेदेखि दुईवटा मेसिनले आंशिक पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।राजमार्ग पूर्णरूपमा खुलाउन सुरक्षाकर्मीको निगरानीमा पहिरो पन्छाउने काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार उक्त स्थानमा पहिरोको जोखिम भने कायमै रहेको छ । यहाँ पहिरो खसेर करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो ।गएरातिदेखि नै सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौं सवारी साधन रोकिएका थिए । साना सवारीलाई भने वैकल्पिक बाटोबाट गन्तव्यमा पठाइएको थियो ।
