वाशिङटन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी बोइङले फौजदारी धोकाधडीको अभियोगमा आफ्नो दोष स्वीकार्न सहमति जनाएको छ । ३४६ जना यात्रीको ज्यान जाने गरी भएको दुई ओटा ७३७ म्याक्स विमान दुर्घटनापछि कम्पनीको सुधारका लागि भएको सम्झौता उल्लङ्घन गरेको पाइएपछि सो अभियोग लगाइएको थियो कम्पनीले दोष स्वीकार्नुका साथै २४ करोड ३६ लाख डलर बराबरको जरिवाना तिर्न पनि सहमति जनाएको अमेरिकाको न्याय मन्त्रालयले बताएको छ । पाँच वर्षअघि पाँच महिनाको अन्तरालमा भएका ती दुई दुघर्टनामा परेर ज्यान गुमाउने व्यक्तिका परिवारहरूले भने यो सम्झौताले बोइङलाई ती मृत्युको पूर्ण जिम्मेवारीबाट पन्छाउने बहाना दिने भन्दै आलोचना गरेका छन् । यो सेटलमेन्टलाई अब अमेरिकी न्यायाधीशले मन्जुरी दिनुपर्नेछ । दोष मानेर बोइङले आपराधिक मुद्दाको पेशीबाट उन्मुक्ति पाएको छ कम्पनीलाई कठघरामा उभ्याउनुपर्ने दबाब मृतक यात्रीका परिवारहरूले दिँदै आएका थिए । सन् २०१८ र सन् २०१९ मा लगभग उस्तै गरी दुईओटा बोइङ ७३७ म्याक्स दुर्घटनामा परेपछि कम्पनीको सुरक्षा रेकर्डबारे प्रश्नहरू उठेका थिए । यी दुई घटनापछि विश्वभर बोइङका ७३७ म्याक्स विमान ग्राउन्डेड हुने क्रम बढेका थियो भने बोइङले सुरक्षा सङ्कटको सामना गरेको थियो ।
