वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६०० परिवार प्रभावित भएका छन् । शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनीहरुलाई सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको उनले बताए ।आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरुको संख्या समेत बढेको थियो । कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भंगालोमा फसेका २९ जनाको सकुशल उद्दार समेत गरिएको डीआईजी केसीले जानकारी दिए ।अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।डीआईजी केसीले बाढी, पहिरो तथा डुबानबाट प्रभावित भएकाहरुको उद्धारका लागि प्रदेशभर दुई हजार भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए । प्रहरीकै संख्यामा अन्य सशस्त्र प्रहरी र नेपाली सेना समेत उद्दार तथा राहतका काममा खटिएका छन् ।

सोमबार बिहान बसेको प्रदेश सुरक्षा समितिको बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरुको उद्धारलाई तीव्रता दिने, उनीहरुको व्यवस्थापनसँगै खानपानमा समेत विशेष ख्याल गर्ने तथा उद्दार तथा राहतमा सुरक्षा निकायसँगै राजनीतिक संयन्त्रलाई समेत सक्रिय बनाउने निर्णय भएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढी तथा डुबानबाट कैलालीको पूर्वी भूभाग बढी प्रभावित भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले कान्द्रा र काडा नदीका कारण भजनी नगरपालिका र जोशीपुर गाउँपालिका क्षेत्र डुबानमा परेको जानकारी दिए । उनका अनुसार भजनी नगरपालिकाका वडा नम्बर ५ र ७, जोशीपुर गाउँपालिकाका वडा नम्बर ३ र ८ तथा टीकापुर नगरपालिकाको वडा नम्बर ६ बाढी र डुबानका कारण प्रभावित भएका छन् ।धनगढी उपमहानगरपालिकाका वडा नम्बर १८ र १९ तथा गौरीगंगा नगरपालिकाका केही वडा समेत डुबानमा परेका छन् । ती ठाउँमा पनि रातिदेखि नै उद्धारको कार्य जारी रहेको एसपी विष्टले बताए ।
कल्भर्ट भासिएपछि राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिका क्षेत्र प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले जानकारी दिए । जोशीले प्रभावित क्षेत्रका बासिन्दाको उद्धारको काम आइतबार रातिदेखि नै जारी रहेको बताए ।अहिले उद्धारको कार्य भइरहेका कारण जिल्लाभर के–कति मानिस प्रभावित भए भनेर यकिन विवरण दिन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।यसैबीच कञ्चनपुरको वेदकोट नगरपालिका–७ मा पूर्वपश्चिम राजमार्गमा पर्ने कल्भर्ट भासिएपछि राजमार्ग अवरुद्ध भएको छ ।पहिरोका कारण डडेल्धुराको साहुखर्कमा अवरुद्ध भएको भीमदत्त पन्त राजमार्ग एकतर्फी रुपमा खुलाइएको छ ।यस्तै, बझाङको मालाभिर क्षेत्रमा पहिरो गएका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध छ ।