काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रामात्रै ल्याएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । सांसद शर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको बताए । उनले दुई वटा काममध्ये पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको बताए । उनले तर प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट गरेको निर्णय किन कार्यान्वयन हुन नसकेको बारे जवाफ दिन माग गरे । सांसद शर्माले २८ गते विश्वासको मतअघि पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन् ।सांसद शर्माले पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोशी जोन अस्पताललाई आफ्नै आंगिक क्यामपसको रुपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबीबीएस सुरु गर्ने भन्ने मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले पूर्वका विद्यार्थीहरूको लागि सुनौलो अवसर भएपनि कार्यान्वयन नहुँदा पढ्न आउने आशाले बसेका विद्यार्थीहरूमा निरासा छाएको बताए । उनले पूर्वाधारका हिसाबले अहिलेको विद्यमान कानुन अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार हुँदा पनि अहिलेसम्म सञ्चालन हुन नसकेको बताए । उनले अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोसिस गरेको भन्दै धन्यवाद दिए । उनले दफा ५७ संशोधनले नेपालका उद्योगीहरू र नयाँ स्टार्टपहरुको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गरे ।सांसद शर्माले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भयो’गीत सुनाए । उनले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताए ।
