काठमाडौँ । स्तरोन्नतिका लागि मनकामना केबलकारको सञ्चालन बन्द गरिने भएको छ । स्तरोन्नति कार्यमा करिब ५० करोड रुपैयाँको लगानी हुने कम्पनीको भनाई छ ।२६ वर्ष अगाडि जडित केबलकार क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनी डोपलमायरले समेत यसका पार्टपुर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केबलकारको स्तरोन्नति गर्न लागिएको हो ।डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न कम्तीमा ५० दिन लाग्ने प्राविधिकहरूको अनुमान छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समयभन्दा चाँडो पनि हुन सक्ने वा लम्बिन सक्ने कम्पनीको भनाई छ ।निर्देशक राजेश बाबु श्रेष्ठ भन्छन्, ‘हाम्रो प्रविधि एनालगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डीसी करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम प्रविधि हो र यसलाई डोपलमायरको डी–कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसी ब्ऋ करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्ट्रोल सिस्टम, प्यानलहरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेसन बिच जडित कम्युनिकेसन केबलसमेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जसको लम्बाई करिब ३२ सय मिटरको हुनेछ। त्यस्तै मेन केवल तार लट्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करिब ६५०० मिटरको हुनेछ । केबलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रुपहरू, जसको माध्यमबाट गन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेको श्रेष्ठको भनाई छ । केबलकार तल्लो स्टेसनमा रहेको रेस्टुरेन्ट बन्द अवधिभर यथावत् सञ्चालन भई सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
