काठमाडौँ । अविरल वर्षाका कारण कर्णाली बेसिन अन्र्तगत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार आइतबार बिहान ठूली गाढ नदीमा बाढीले खतराको तह पार गरेको हो ।

साडे ५ मिटरसम्म पानीको सतह बढ्दा खतराको तह हुनेमा आइतबार बिहान ११ बजेको समयमा ८ दशमलव ७६ मिटर जलसतह बढेको हो ।
यस्तै डडेलधुरामा महाकाली नदीले खतराको तह पार गरेको छ । चितवन नारायणघाट, देवघाट क्षेत्रमा बाढीको मात्रा खतराको तहमा पुगेको छ । यस्तै प्रदेश १ मा कोशी नदी बेसिनमा रहेका अरुण, तमोर र पुरानो चतरा क्षेत्रमा सप्तकोशी नदीमा आएको बाढीले जल सतह पार गरेको छ ।
बिहान ११ बजेसम्मको आँकडा अनुसार कन्चनपुर, कैलाली, बर्दिया, पाल्पा, स्याङ्जा लगायतका जिल्लामा अत्यधिक मात्रामा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।