काठमाडौं । गत साता २०५१ मा रहेको सेयर बजारको परिसूचक नेप्से यो साता २११९ अंकमा बन्द भयो । यो साता नेप्से परिसूचक ३.३१ प्रतिशत बढेको छ ।आइतबार १४.८३ अंक घटेको बजार सोमबार १६.२९ अंक बढ्यो । मंगलबार दुई पटक सर्किट ब्रेक लागेको बजार कारोबारका क्रममा २१६२ अंकसम्म पुगेको थियो । अन्ततः ४७ अंक बढेर २१०० मा बन्द भयो । बुधबार ३.७९ र बिहीबार १५.४७ अंक बढेसँगै नेप्से २११९ अंकमा पुगेको हो ।यो साता नेप्सेमा आएको वृद्धिमा सत्ता समीकरण हेरफेर प्रमुख कारण हो । सोमबार राति १२ बजे नेपाली कांग्रेस र एमालेबीच सत्ता बाँडफाँडमा सहमति भएपछि मंगलबार बजारमा दुई पटक सर्किट ब्रेक लाग्न पुगेको हो । तर मंगलबार दिउँसाे प्रधानमन्त्री प्रचण्डले आफूले राजीनामा नदिइ विश्वासको मत नै लिने बताएपछि बजार सम्हालिन पुग्यो।दुई ठूला दल मिलेर बन्ने सरकार स्थायित्व हुने तथा निजी क्षेत्रमैत्री हुने लगानीकर्ताको विश्वासले बजारलाई सकारात्मक प्रभाव पारेको लगानीकर्ताको बुझाइ छ । जसले गर्दा मंगलबारदेखिको कारोबार रकम पनि उच्च छ । आइतबार ३ अर्ब ६० करोड, सोमबार २ अर्ब ९९ करोड, मंगलबार ४ अर्ब ५७ करोड, बुधबार ५ अर्ब ८ करोड र बिहीबार ६ अर्ब ४८ करोडको कारोबार भयो ।यो साता धेरै कारोबार हुने कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, महालक्ष्मी विकास बैंक, सांग्रिला विकास बैंक, मञ्जुश्री फाइनान्स, साइन रेसुङ्गा विकास बैंक, आईसीएफसी फाइनान्स क्रमशः अगाडि रहे ।
